१० मे,सिड्नी ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको महामारी अष्ट्रेलियामा करिब पुर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । केहि क्षेत्र बाहेकका ब्यापारिक तथा सेबामुलक क्षेत्रहरु साबिकका समयमा झै खुलिसकेका छन् । अष्ट्रेलियामा लकडाउनका कारण समस्यामा फसेकाहरुलाई भने नेपाली राजदुताबासले उद्दार गर्न सकिरहेको छैन । जुन ८ तारिख क्यानबेरा आउने नेपाल
एयरलाईन्सको बिमानमा प्राथमिकताका हिसाबले फर्काउने प्रचार भए पनि मंगलबार उडेको बिमान जम्मा ११ जनालाई मात्र दुताबासले पठाएको छ ।अष्ट्रेलियामा रहेका मध्ये नेपाल जानै पर्ने अत्याबश्यक रहेकाहरुलाई आफ्नो बिबरण भर्न दुताबासले केहि दिन अगाडी अपिल गरे अनुसार करिब एक हजार चार सय जनाले सो फारम भरे पनि दुताबासले २६० सिटको बिमान खाली पठाएको हो ।
उक्त बिमानमा ४ सरकारी कर्मचारी,क्यान्सर बिरामी बिशाल पौडेल र उनका श्रीमती एलिसा अधिकारी,गायिका सुनिता परियार,२ जना अष्ट्रेलिया घुम्न आएका युबा-युबती र अन्य २ जना दुताबासलाई जानकारी नभएका ब्यक्ती रहेको राजदुत महेशराज दाहालले बताए ।राजदुत दाहालले दुताबासले २६० जनालाई नै पठाउन चाहेको तर परिस्थित सकारात्मक नरहेकाले पठाउन नसकिएको जिकिर गरे ।
दुताबासले किन ११ जनालाई मात्र पठायो भन्ने प्रश्नमा राजदुत दाहालले भने “दुताबासले ३ जना-पौडेल दम्पती र गायिका परियारलाई मात्र सिफारिस गरेको हो,बाँकी ८ जना यात्रुहरुलाई दुताबासले सिफारिस गरेको होईन,नेपाल बाट आएको नाम लिष्ट हो,यसमा दुताबासले केहि गर्न सकिने अबस्था थिएन । हामीले सिफारिस गरेका ३ जना बिरामी भएको र अत्याबश्यक रहेकाले पठाएका होऔ” ।
क्यानबेरा स्थित नेपाली दुताबासले मंगलबार पुनःनेपाल जान पर्नेहरुका लागि छुटेकाहरुका लागि ब्यक्तिगत फाराम भर्न अपिल गरेको छ । यस्तै दुई साता भित्र अष्ट्रेलियाका नेपालीलाई उद्दार गरिने राजदुत दाहालले नेपाली टिभीलाई बताए ।







