२२ अप्रिल,एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । कोरोना भाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि नागरिकको प्रतिस्पर्धी क्षमता बढाउन अमेरिकामा स्थायी बसोबासका लागि दिइने ग्रीनकार्ड प्रदान गर्ने कार्यमा ढिलाई गर्नु परेको राष्ट्रपति ट्रम्पले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले कतिपय विशेष परिस्थितिमा भने ग्रीनकार्डका बारेमा केही छूट दिइने पनि बताएका छन् । तर, उनले कस्तो अवस्थामा छूट उपलब्ध गराइन्छ भन्ने बारेमा पछि निर्णय गरिने स्पष्ट गरे । राष्ट्रपति ट्रम्पले घोषणा गरेको अस्थायी प्रतिबन्धमा ‘अस्थायी कामदार’ का बारेमा केही उल्लेख छैन ।
ह्वाइट हाउसमा कार्यकारी आदेशमा हस्ताक्षरपछि बोल्दै राष्ट्रपति ट्रम्पले आप्रवासनमा गरिएको अहिलेको प्रतिबन्धले अमेरिकी नागरिकलाई रोजगारीमा पहिलो प्राथमिकता प्राप्त हुने विश्वास व्यक्त गरे । “अर्थतन्त्र खुल्नासाथ विदेशबाट आउने नयाँ आप्रवासी मजदूरले अहिले बेरोजगार बनेका अमेरिकीलाई बिस्थापित गर्नु गलत र अन्याय हुन्छ ।”
एपी








