९ बैशाख,काठमाण्डौ ।
सरकारले सोमबार जारी गरेको दलगत पार्टी फुटाउने सहज तरिकाको दुई अध्यादेशप्रति प्रतिपक्ष दल नेपाली कांग्रेस घोर आपत्ती जनाएको छ । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउबाले प्रेस बिज्ञप्ती जारी गर्दै आपत्ती जनाएका हुन् ।कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ । यस्तो बेलामा नेपाल सरकारले संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ ।
दुबै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ । बिज्ञप्तीमा लेखिएको छ ।सार्बजनिक बिज्ञप्तीमा भनिएको छ ‘कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो’ ।
आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको नेपाली कांग्रेसको ठहर छ ।
नेपाली कांग्रेसले अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील समेत गरेको छ ।








