चैत्र २५,लण्डन ।
कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुगेका थिए ।स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।नियमित जाँचका क्रममा स्वास्थ्य स्थिति थप गम्भीर भएपछि उनलाई सोही अस्पतालको सघन उपचार कक्षमा सारिएको छ ।
प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङका अनुसार प्रधानमन्त्री जोन्सन यही आइतबार साँझदेखि अस्पताल भर्ना भएका थिए । बिस्तारै स्वास्थ्य अवस्था बिग्रँदै गएपछि निकै गम्भीर स्थिति हुँदा उपचारमा संलग्न चिकित्सकको टोलीको सल्लाह र निगरानीमा थिए । सोमबार दिउँसोदेखि उनलाई सघन उपचारकक्षमा सारिएको बताइएको छ ।
उनले आफ्ना विदेशमन्त्री डोमिनिक राबलाई आवश्यक ठाउँमा भूमिका निभाइदिन अनुरोध पनि गरेका छन् । तर, यसको अर्थ उनले कार्यवाहकका रूपमा जिम्मेवारी दिएको भने होइन । अवस्था अझै गम्भीर बनेमा भेन्टिलेटरमा राख्ने तयारी पनि गरिरहेको उपचारमा खटिएको टोलीले जनाएको छ । एजेन्सी








