धेरै पानी पिएकै कारण साउथ अष्ट्रेलियामा ५ हजार ऊँट मारियो

सिड्नी ।
बिगत दुई महिना देखी अष्ट्रेलियाका धेरै स्थानहरुमा लागेको डढेलो अझै पुर्ण रुपमा नियन्त्रणमा आईसकेको छैन । आगलागीकै कारण साउथ अष्ट्रेलियामा पानीको संकट समेत परेको छ ।चर्को खडेरी र पानीको समस्या त्यसमाथि पनि ऊँटले धेरै पानी पिएपछि त्यहाँका ५ हजार ऊँटलाई गोली हानेर मारिएको समचार एजेन्सी एएफपीले जनाएको छ ।एजेन्सीका अनुसार ५ दिन लगाएर ‘सुटर’ले हेलिकप्टरबाट गोली हानेर ऊँट मारेका हुन्। खडेरी प्रभावित साउथ अष्ट्रेलियामा ऊँटले धेरै पानी पिएपछि स्थानीयहरुलाई असर गरेकै कारण मारिएको सम्बन्धित अधिकारीले बताएका छन् ।

दक्षिण अष्ट्रेलियाका अबोरिजिनल अगुवाहरुले झुन्डमा ऊँट आएर घर भत्काईदिने,धेरै पानी र खानेकुरा खाइदिने जस्ता गतिविधि गरेको एजेन्सीले उल्लेख गरेको छ । ऊँटका झुन्डलाई छुट्टाइएको एपीआई क्षेत्रमा मात्र २ हजार ३ सय परिवार रैथाने समुदायको बसोबास रहेको त्यहाँका जेनेरल म्यानेजर रिचार्ड किङले बताए। झुन्डछुट्याउने काम आइतबार सकिएको थियो।

मंगलबार एक विज्ञप्ति निकाल्दै रिचार्डले भनेका छन्, ‘पशु अधिकारकर्मीहरुको चिन्तालाई हामीले गम्भीर रुपमा लिएका छौँ तर यहाँका रैथाने जीवहरुको यथार्थबारे धेरै गलत सूचनाहरु आएका छन्। हामीले आगन्तुक प्रजातिमा समाधान खोज्नुपर्छ।’

रिचार्डले ऊँटहरु पानी भएका स्थानहरुमा मर्दा मुहानहरु प्रदूषित भएको बताए। पानीका मुहान प्रदूषित हुँदा त्यहाँ आश्रित स्थानीय र रैथाने जीवहरुलाई असर गरेको उनले एएफपीलाई बताएका छन्।

ऊँट अष्ट्रेलियाको रैथाने प्रजाति हैन। यो त्यहाँका लागि बाह्य प्रजाति हो। सन् १८४० मा अष्ट्रेलियामा पहिलोपटक भारतबाट ऊँट ल्याइएको थियो। अष्ट्रेलियामा पहिलो पटक २० हजार ऊँट अन्यत्रबाट ल्याइएको थियो।

अहिले विश्वमा सबैभन्दा बढी ऊँट अष्ट्रेलियामा पाइन्छन्। अष्ट्रेलियाका विभिन्न मरुभूमिहरुमा पछिल्लो समयमा करिब १० लाखको हाराहारीमा ऊँट रहेको अनुमान गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।