एजेन्सी
सिड्नी । अमेरिकाको सरकारी वेबसाइट ह्याक भएको छ । अमेरिकन सरकारी निकाय फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट आफूलाई इरानको बताउने ह्याकरले ह्याक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था ‘द गार्जियन’ ले जनाएको छ ।वेबसाइइट खोल्दा ‘इन द नेम अफ् गड’ अर्थात् भगवानको नाममा, इरान साइबर सुरक्षा समूह ह्याकर्स लेखेको पाइन्छ । यसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरान लेखिएको मुड्कीले गालामा हानिरहेको र ट्रम्पको मुखबाट रगत बगिरहेको तस्बिर राखिएको छ ।
गएको शुक्रबार इराकमा अमेरिकाले गरेको आक्रमणमा ईरानी सेनाका जर्नेल कासिम सुलेमानीको ज्यान गएपछि ईरानले सही समय र सही ठाउँमा यसको बदला लिने चेतावनी दिइसकेको छ ।
ह्याक भएको वेबसाइटमा सुलेमान शहीद भएको र भगवानको शक्तिले उनको हत्याको बदला लिइने पनि उल्लेख छ । इरानी ह्याकरले अमेरिकी सरकारी वेबसाइट ह्याक गरेको भनिए पनि इरानले नै ह्याक गरेको भन्ने कुनै प्रमाण भने भेटिएको छैन ।
आइतबार बिहान ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको ५२ ठाउँलाई निशाना बनाएकाले अमेरिकी नागरिक र सम्पत्तिमाथि आक्रमण गरे तत्कालै बलियो तरिकाबाट जवाफ दिने चेतावनी दिएका थिए ।