मस्को बिमान दुर्घटना:जस्ले बचाईन ३१ यात्रुलाई

एजेन्सी ।

मस्कोको सेरेमेटयेभो एयरपोर्टमा दुई दिनअघि भएको विमान दुर्घटनाका क्रममा एकजना एयरहोस्टेसले ३१ जना यात्रुको ज्यान बचाएकी छन् ।समाचार अनुसार आगो लागेपछि आपतकालिन अवतरणका क्रममा विमान आधा जलिसकेको थियो । विमानको पछिल्लो भागमा आगो लागेपछि धुवाँको मुस्लो छुटिसकेको थियो । यो अवस्थामा यात्रुको अवस्था कस्तो भयो होला? अनुमान मात्रै गर्न सकिन्छ ।आगोको मुस्लोसहित जब विमान आपतकालिन अवतरणपछि एयरपोर्टमा रोकियो तब एयरहोस्टेस तात्याना कसाटकिनाले धैर्य नगुमाइ सहास देखाइन् । उनले विमान जलेपछि आत्तिएका यात्रुको कठालोमा समात्दै धक्का दिएर बाहिर पठाइन् । यो विमान दुर्घटनामा कम्तीमा ४१ जनाले ज्यान गुमाएका थिए ।

लात्तीले ढोका खोलिन्

‘जब विमान रोकियो तब मैले लात्तीले हानेर ढोका खोलेँ । त्यसपछि मैले ती यात्रुलाई धक्का दिएर बाहिर निकाले जो आफ्ना झोला र अन्य सामानका कारण इमरजेन्सी स्लाइड भन्दा पहिले बाहिर निस्कन सकेका थिएनन्’, ३४ वर्षाय तात्यानाले भनिन्, ‘मैले पछाडिबाट यात्रुको कठालो समातेर धक्का दिन सुरु गरेँ । विमानको पछिल्लो भाग धेरै जलिसकेकाले हामी चाँडो भन्दा चाँडो विमान खाली गर्न खोजिहेका थियौँ । आगो तीब्र गतिमा अगाडि रहेका हामीतर्फ बढिरहेको थियो।’ यस दुर्घटनामा बचेका यात्रीले तात्यानाको खुलेर प्रशंसा गरेका छन्।

उनीहरुका अनुसार केही यात्रुले आफ्नो लगेजका लागि आपतकालिन बाटो रोकेका थिए । एयरहोस्टेसले सही समयमा तत्काल निर्णय लिएर ज्यान बचाएको यात्रुहरुको भनाइ छ। बाँचेका यात्रु दिमित्री ख्लेबनिकोभले भने, ‘नयाँ जीवन दिएकोमा म भगवान र एयरहोस्टेसलाई धन्यवाद दिन्छु । जब विमानभित्र अँधेरो, आगो र धुवा भरियो तब हामीलाई साथ दिइन् एयरहोस्टेसले ।’

रूसी एयरलाइन एयरोफ्लोटको सुपरजेटमा आइतवार अवतरणका क्रममा अचानक आगो लागेको थियो । पाइलटले थाहा पाएपछि आपतकालिन अवतरण गराएका थिए । अवतरणपछि विमानको पछिल्लो भागलाई आगोको ठुलो लप्काले छोपेको थियो ।

अवतरणपछि तीब्र गतिमा यात्रुलाई बाहिर निकालियो । तर त्यो बेलासम्म विमान आधा भन्दा धेरै जलिसकेको थियो । यो घटनामा २ बच्चासहित ४१ जना मारिए । ९ जना घाइते भए । यीनमा तीनको अवस्था गम्भीर थियो । विमानमा पाँच चालक दलका सदस्यसहित ७३ यात्री सवार थिए। यो जहाज मस्कोबाट मुरमान्स्क गइरहेको थियो ।

चट्याङ्ले आगो

रूसी सञ्चारमाध्यमका अनुसार यो दुर्घटना चट्याङबाट भएको हो । एयरहोस्टेस् तात्यानाले पनि अवतरणका क्रममा तीब्र गतिको आगोको ज्वाला देखेको बताइन् । ‘हाम्रो जहाज बाहिर गड्याङगुडुङ सुनिएको थियो। त्यसपछि ठुलो विस्फोट सुनियो । अन्तिममा कालो धवाँको मुस्लोले हाम्रो जहाजलाई छोप्यो’, उनले भनेकी छन्।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।