इस्लामावाद । एकाबिहानै केटामा भएको बिस्फोटमा परी १६ जनाको मृत्यु भएको छ । हजारगन्ज इलाकास्थित व्यस्त तरकारी बजारमा शुक्रबार बिहान करिब ८ बजे भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो । बजारमा रहेको प्रहरी भ्यानलाई लक्षित गरी विस्फोट गराइएको हो ।मृतकमध्ये १५ सर्वसाधारण र एक प्रहरी छन् । विस्फोट कसले गराएको हो भन्ने प्रष्ट भइसकेको छैन । बिस्फोटमा दर्जनौं घाइते भएका छन् । बिस्फोट लगत्तै बजारमा भागदौड मच्चिएको थियो । घटनास्थलमा सुरक्षाकर्मीले घेरा हाली अनुसन्धान थालेको छ ।
यो पाकिस्तानको बलुचिस्तान प्रान्तको खबर हो । बलुचिस्तान प्रान्तको शिया समुदायको बाहुल्यता रहेको उक्त बम बिस्फोटमा सबै शिया समुदायका ब्यक्ति रहेको अधिकारीहरुले बताएका छन् ।
यसैबीच दोस्रोचोटि मोदी सरकार केन्द्रमा आउनेबितिक्कै भारतका गोर्खाहरूले न्याय पाउने र उनीहरूको जीत निश्चित रहेको भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले बताएका छन्।
बिहीबार दार्जिलिङको कालेबुङ आएका शाहले स्थानीय रोनाल्डसे पार्कमा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्दै गोर्खाहरूले न्याय र सम्मान पाउने बताएका हुन्।
अमित शाह पहिलोपटक दार्जिलिङ पहाड आएका हुन्। उनी कालेबुङको मञ्चबाट भाजपा उम्मेद्वार राजु विष्टका समर्थकहरूलाई सम्बोधन गरिरहेको समयमा नै दार्जिलिङको चोकबजारको मञ्चबाट पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले तृणमूल उम्मेद्वार अमरसिंह राईको समर्थनमा भेला भएका जनसमुदायलाई सम्बोधन गरिरहेकी थिइन्।
‘सुवास घिसिङदेखि लिएर आजसम्म तपाईंहरूले जुन सङ्घर्ष गर्नुभएको छ, जुन यातना र वेदना सहनु भएको छ। जुन बलिदान दिनुभएको छ, ती सबै यातना, वेदना र सङ्घर्शको अन्त्य २६ मईको दिन हुनेछ’, भाजपाका अध्यक्ष शाहले थपे, ‘कसैले जति नै किन तपाईंहरूमाथि अत्याचार गरोस्। सत्यको अघि जित्न सक्दैन। सत्य गोर्खा र दार्जिलिङ पहाडवासीको साथमा छ। यसैले तपाईंहरूको जीत निश्चित छ।’
शाहका अनुसार मोदी सरकारमा आएलगत्तै जनजातिको मान्यता पाउनबाट छुटेका गोर्खा जातिका ११ जातगोष्ठीलाई भारतीयस्तरमा जनजातिको मान्यता प्रदान गरिनेछ। उनले दार्जिलिङ पहाड़ र यहाँका गोर्खाहरूलाई ममता ब्यानर्जीले अन्याय-अत्याचार गरिरहेको पनि बताए। बङ्ग्लादेशी अनुप्रवेशकारीहरूको खुल्ला संरक्षणमा अघि आउने ममताले दार्जिलिङ पहाड़का रैथाने गोर्खाहरूलाई भने घरबाहिर खेदेको थप बताए।
यसैले पनि पछिल्लो गोर्खाल्यान्ड आन्दोलनपछि भूमिगत भएका गोर्खाल्यान्ड आन्दोलनकारी नेता विमल गुरुङलगायत पाँच हजार आन्दोलनकारीलाई दार्जिलिङ फर्काउन भाजपा प्रतिबद्ध रहेको दोहोऱ्याए।
‘यी पाँच हजार नेताहरूको पक्षमा भाजपा चट्टानजस्तो भएर खड़ा हुनेछ’, शाहले थपे, ‘उनीहरूले पक्कै न्याय पाउनेछन्। म त्यही भन्न यहाँ आएको हुँ।’ करिब २७ मिनटको भाषणमा अमित शाहले धेरजसो समय दार्जिलिङ पहाड़ र गोर्खाहरूसँग सम्बन्धित मुद्दालाई सम्बोधन गर्न खर्चेका थिए।
आफ्नो भाषणमा उनले दार्जिलिङ पहाड़को प्राकृतिक सौन्दर्य र हरियाली चियाबारीको प्रशंसा गरेर दार्जिलिङलाई बङ्गालकी मुख्यमन्त्रीले तहसनहस गरिसकेको भन्दै उनको निन्दा पनि गरे। साथै बङ्गालबाट ममता ब्यानर्जीको सत्तालाई उखेलेर फ्याँक्नका लागि सबै सङ्कल्पित हुनुपर्ने बताए।
‘ममता ब्यानर्जीले अहिले एनआरसी (राष्ट्रिय नागरिक पञ्जीकरण) -को डर देखाएर गोर्खाहरूलाई भड़काउँदैछिन्। तर एनआरसीलाई लिएर गोर्खाहरू डराउनु पर्दैन’, उनले थपे, ‘यदि मभन्दा कोही हिन्दुस्तानी छन् भने उनीहरू गोर्खा हुन्। उनीहरूलाई कसैले देशबाहिर गर्न सक्दैन।’ भाजपा अध्यक्षले एनआरसी अवैध बङ्ग्लादेशी अनुप्रवेशकारीहरूका लागि रहेको पनि स्पष्ट पारे।
शाहले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष एवं सन् १९८० को दशकमा गोर्खाल्याण्डको आन्दोलन चर्काउने सुवास घिसिङको नामलाई स्मरण गरेर आफ्नो भाषण शुरु गरेका थिए। यसका साथै उनले पछिल्लो गोर्खाल्यान्ड आन्दोलनमा शहीद भएका कालेबुङनिवासी वरुण भुजेलका आमा र श्रीमतीलाई मञ्चमा बोलाएर सम्मान जनाएका थिए।
स्मरणरहोस्, यसपटक भाजपाले मणिपुरका गोर्खा एवं प्रतिष्ठित व्यवसायी राजु विष्टलाई दार्जिलिङ लोकसभा सीटबाट उम्मेद्वार बनाएको छ। उनी राजु विष्टको समर्थनमा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्न अमित शाह कालेबुङ आएका थिए।
भाजपाले विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा र स्व. सुवास घिसिङका छोरा मन घिसिङको नेतृत्वमा रहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको समर्थनमा राजु विष्टलाई दार्जिलिङ लोकसभा सीटबाट उम्मेद्वार बनाएको हो।
अहिले भाजपा उम्मेद्वार राजु विष्टलाई क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी, सुमेटि मोर्चा, अखिल भारतीय गोर्खा लीग, कालेबुङ कृषक कल्याण सङ्गठन, गोर्खाल्यान्ड संयुक्त सङ्घर्ष समिति, गोर्खाल्यान्ड राज्य निर्माण मोर्चा, राष्ट्रिय गोर्खाल्यान्ड समिति आदिको समर्थन प्राप्त छ।
अर्कोतिर ममता ब्यानर्जीले विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाको समर्थनमा दार्जिलिङका विधायक अमरसिंह राईलाई तृणमूल उम्मेद्वारको रूपमा दार्जिलिङ लोकसभा सीटबाट उठाएकी छन्।
अमरसिंह राई शुरुमा विमल गुरुङसँग थिए। गुरुङकै पार्टीबाट दार्जिलिङका विधायक निर्वाचित भएका हुन्। त्यसभन्दा अघि पनि गुरुङकै पार्टीबाट दार्जिलिङ नगरपालिकाका अध्यक्ष बनेका थिए।
यद्यपि पछिल्लो आन्दोलन चरममा पुगेको बेला विमल गुरुङकै दाहिने हात मानिने विनय तामाङ र अनित थापाले आन्दोलनबाट निस्केर राज्यसँग हात मिलाएर गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सञ्चालनमा फर्केपछि अमरसिंह राईले पनि विमल गुरुङको साथ छोड़ेर विनय तामाङ र अनित थापाको हात समाएका थिए।
यसैले पनि यसपटक दार्जिलिङको चुनाउमा भाजपा उम्मेद्वार राजु विष्ट र तृणमूल उम्मेद्वार अमरसिंह राईबीच कड़ा प्रतिद्वन्द्विता हुने छनक छ। मोदी-ममता दुवैका लागि दार्जिलिङको लोकसभा सीट ‘अहं’-को मुद्दा भएकोले दुवै दलले अहिले सके जति शक्ति खर्चिरहेको छ।
यता भारतीय निर्वाचन आयोगले टेलिभिजन च्यानल ‘नमो’ले चुनावी आचारसंहिता उल्लंघन गरेको जनाएको छ । आयोगले दिल्लीका प्रमुख निर्वाचन अधिकारीलाई नमो टिभीका सामग्रीमा निगरानी गर्न आदेश दिएको छ ।
यो टेलिभिजनले प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण तथा भारतीय जनता पार्टी (भाजपा) समर्थित सामग्री प्रसारण गर्दै आएको थियो । यसलाई निर्वाचन आयोगले ‘आचारसंहिता उल्लंघन’ भनेको हो ।
आयोगले दिल्लीका प्रमुख निर्वाचन अधिकारीलाई कुनै पनि चुनावी सामग्री प्रमाणित नगरी प्रसारण नगर्न आदेश दिएको छ । मिडिया सर्टिफिकेसन एन्ड मोनिटरिङ कमिटीबाट प्रमाणित भएका सामग्रीमात्रै नमो टिभीबाट प्रसारण गर्न दिन निर्वाचन आयोगले भनेको छ ।
नमो टिभीमा प्रसारित सामग्री आफ्नो अनुमति बिना नै प्रसारण भएको पुष्टि दिल्ली निर्वाचन आयोगले गरेको थियो । नमो टिभी एक राजनीतिक पार्टीबाट प्रायोजित रहेकाले यसका सामग्रीमा नियमन गर्नुपर्ने निर्वाचन आयोगको भनाइ छ ।
अनुमति नलिई अहिले प्रसारण भइरहेका सामग्री तत्काल रोक्न पनि आयोगले निर्देशन दिएको छ । यो टेलिभिजन विरुद्ध कांग्रेस र आम आदमी पार्टीले चुनाव आयोगमा उजुरी दिएका थिए ।