यिन बर्षका १७ चर्चित घटना

बैशाख ३
२०७५ साल समाप्त भएर नयाँ वर्ष आगमन हुँदैछ । फर्केर हेर्दा, वर्ष ०७५ मिश्रित रह्यो । राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक क्षेत्रमा केही राम्रा काम भए केही काम निकै विवादित बने । अपराधका ठूला घटना पनि भए ।डा. सीके मूलधारमा, विप्लवमाथि प्रतिबन्ध
२४ फागुनमा सरकारले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग ११ बुँदे सहमति गर्यो । स्वतन्त्र मधेसको मागसहित देश नै टुक्र्याउने अभियानमा लागेका राउतसँग भएको सो सहमतिसँगै उनको समूह मूलधारमा आएको घोषणा गरियो । राउतसँगको सहमति भएको चार दिनपछि सरकारले २८ फागुनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगायो । यी दुवै निर्णयको प्रतिपक्षी र सत्तापक्षबाटै पनि चर्को आलोचना भयो ।
सरकार र राउत समूहबीच ११ बुँदे सहमतिपछि राउत राजनीतिक मूलधारमा आएको सरकारी पक्षले दाबी गरे पनि सहमतिपछि पनि उनका गतिविधि शंकास्पद रहेको भन्दै केही दिन आलोचना भइरह्यो । विप्लवलाई प्रतिबन्ध लगाएपछि सरकारले नेकपाका सयौँ नेता कार्यकर्ता पक्राउ गर्यो ।

दुई कम्युनिस्ट पार्टीको एकता
०७५ को सुरुवातमै नेपालका दुई ठूला कम्युनिस्ट घटक नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भयो । ३ जेठमा पार्टी एकता घोषणासँगै एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राखियो । पुनर्गठित पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिस्ट पार्टी बन्यो । एसियामा चीन र भियतनामपछि ‘नेपाल कम्युनिस्ट पार्टी’ तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको छ । महाधिवेशन नहुँदासम्मका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष छन् ।

विवादमा तानिएका मन्त्री तामाङको राजीनामा
०७५ मा केन्द्र सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पद नै छाड्नुपर्यो । तामाङले बङ्गलादेशमा एमबीबीएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफ्नो शरीर अरुलाई सुम्पनुपर्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भयो । मन्त्री तामाङको सर्वत्र आलोचनापछि उनले साउन ८ गते पत्रकार सम्मेलन गरेर राजीनामा दिए ।
श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलन गरेका मन्त्री तामाङले आफूले महिला अधिकारका कुरा उठाएको तर त्यही कुराले आफूलाई लखेटेको राजीनामा दिने क्रममा बताएका थिए ।

दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत
न्यायाधीश दीपकराज जोशी न्यायालयको इतिहासमा संवैधानिक परिषद्बाट सिफारिस भएर पनि प्रधानन्यायाधीश हुन पाएनन् । संसदीय सुनुवाइ समितिले १८ साउनमा उनको प्रधानन्यायाधीश हुन अस्वीकृत गर्यो । समितिले न्यायालयको नेतृत्वका लागि ठोस कार्ययोजना प्रस्तुत गर्न नसकेको र शैक्षिक प्रमाणपत्र सन्देहात्मक रहनुका साथै जन्ममितिसमेत फरक फरक भेटिएको भन्दै सत्तारुढ दलको दुई तिहाइ बहुमत जोशीको विपक्षमा उभिएको थियो ।

वाइडबडी प्रकरण
नेपाल वायुसेवा निगमले किनेका दुईवटा वाइडबडी जहाज खरिद र त्यसमा भएको भ्रष्टाचार प्रकरण ०७५ मा निकै चर्चा पायो । सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएकोे निष्कर्षसहितको प्रतिवेदन पुस १८ मा आएपछि यसको चर्चा र आलोचना भएको हो । वाइडबडी जहाज खरिदमा बहालबाला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समेत दोषी ठहर गर्दै कारबाहीको सिफारिस गर्यो । तर यो घटनामा संलग्नलाई कारबाही भने अझै भएको छैन । यद्यपि अख्तियारले यसबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

हेलिकप्टर दुर्घटना
०७५ फागुनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले १५ फागुनमा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए । तेह्रथुमको चुहानडाँडामा विमानस्थल क्षेत्र अवलोकन गर्न पुगेको टोली पाथिभरा दर्शन गरेर काठमाडौं फर्किने क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरेन्द्रप्रसाद श्रेष्ठ, धु्रव भोछिभया, उपसचिव युवराज दाहाल, मन्त्रीका पीएसओ जमदार अर्जुन घिमिरे र हेलिकप्टर पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

विवादबीच कर्मचारी समायोजन
विवादै विवादबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया औपचारिकरुपमा टुंगिएको घोषणा गर्यो । मन्त्रालयले १४ चैतमा पत्रकार सम्मेलन गरेर एक लाख ३१ हजार कर्मचारी समायोजन गरेको घोषणा गरेको हो । मन्त्रालयले १३ महिना लगाएर कर्मचारी समायोजन सकेको जनाए पनि तीनवटै सरकारमा ठूलो संख्यामा कर्मचारीहरू खाली छन् । सरकारको घोषणा अनुसार केन्द्र सरकारमा ४८ हजार ४०९ दरबन्दी रहे पनि ४० हजार ७६९ जना मात्रै समायोजन भएका छन् ।

पशुपतीको गीतले हंगामा
सामाजिक विसङ्गति, संस्कार र राजनीतिक जालझेलप्रति कटाक्ष गर्दै लोकगायक पशुपति शर्माले फागुन पहिलो साता ‘लुट्न सके लुट…’ गीत सार्वजनिक गरे । जुन गीतले वर्तमान शासकलाई प्रहार गरेको थियो । जुन तन्त्र आए पनि देश विकास नभएको नियतिप्रति रोष पोख्दै सार्वजनिक भएको उक्त गीतप्रति सरकारको असन्तुष्टि बढ्यो र औपचारिक अनौपचारिक दबबा बढेपछि गायक शर्माले युट्युबबाट हटाए । सरकारले औपचारिक रूपमा केही नभने पनि सत्तासीन नेकपा सम्बद्ध सङ्घसंस्थाले विज्ञप्ति नै निकालेरै गीत र पशुपतिलाई बहिष्कार गर्न आह्वान गरे । त्यस घटनापछि अभिव्यक्ति स्वतन्तत्रतामाथि अङ्कुश लगाएको भन्दै सरकारको आलोचना र शर्माको एकाएक चर्चा चुलियो ।

अख्तियारकै आयुक्त घुष प्रकरणमा मुछिए
भ्रष्टाचारीमाथि निगरानी गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्त नै घुस लिएको भिडियो सार्वजनिक भयो । आयुक्त राजनारायण पाठकले आफूले २ किस्ता गरेर ७८ लाख र भाइमार्फत १५ लाख गरी ९३ लाख रुपैयाँ घुस लिएको तथ्य सार्वजनिक भयो । यो घटनापछि पाठकले राजीनामा दिए । उनको राजीनामापछि अनुसन्धान भए पनि मुद्दा गुपचुपमै राखियो । पाठकमाथिको कारबाही के हुँदैछ भन्ने हालसम्म बाहिर आइसकेको छैन ।

लगानी सम्मेलन
चैत १५ र १६ मा नेपालमा दास्रो लगानी सम्मेलन सम्पन्न भयो । जसमा सरकार र निजी क्षेत्रले प्रस्तुत गरेका ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ । सम्मेलनमा १५ वटा परियोजनामा समझदारीसमेत भएको छ । सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ वटा गरी ७७ परियोजना ‘सोकेस’मा राखिएको थियो । २१ अप्रिलसम्म आवेदन दिने समय छुट्याइएको छ । ४० देशका करिब ७ सय लगानीकर्ता सम्मेलनमा सहभागी भए । नेपालको आर्थिक विकासमा कोसेढुङ्गा मानिएको लगानी सम्मेलन सरकारले अपेक्षा गरेअनुसार लगानीको प्रतिबद्धता भने नआएको टिप्पणी भयो ।

विवादमा एसिया प्यासिफिक सम्मेलन
मंसिर दोस्रो साता नेपालमा भएको ‘एसिया प्यासिफिक समिट, २०१८’ सम्पन्न नहुँदै विवादमा तानियो । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको समिटलाई ‘धर्म प्रचार’ गर्ने माध्यम भन्दै चर्को आलोचना भयो । अन्तर्रा््िष्ट्रय गैर सरकारी संस्था (आईएनजीओ) युनिभर्सल पिस फेडरेसन–नेपाल (यूपीएफ–नेपाल) मुख्य आयोजक रहेको यो समिटमा विश्वका ४५ देशबाट १ हजार ५ सयभन्दा बढी पाहुना सहभागी भएका थिए । समिटमा सहभागी हुन ७ देशका राष्ट्र तथा सरकार प्रमुख र ५ सयभन्दा बढी मन्त्री तथा सांसदहरु काठमाडौं आएका थिए । ‘विवादास्पद आईएनजीओ’को निमन्त्रणामा आएका विदेशी पाहुनालाई सरकारले स्वागत सत्कार गरेपछि र आईएनजीओले नेपाल सरकारलाई सह–आयोजकको दर्जा प्रदान गरेपछि यो समिट थप विवादमा तानियो र यसको उद्देश्यमाथि पनि प्रश्न उठ्यो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम
सरकारले फागुन १ गते ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । रोजगारीको खोजीमा विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रयासस्वरुप सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएको हो । सरकारले ‘हाम्रो भविष्य, हाम्रो सरकार’ नारा दिएर बेरोजगारी सरकारको मुख्य चुनौती रहेको र यसविरुद्धको एक ऐतिहासिक घोषणा प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको जनाएको छ । कार्यक्रमको उद्देश्य पूरा भए अब मुलुकमा कोही पनि बेरोजगार नबस्ने सरकारी दाबी छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले काम खोज्ने र कामदार खोज्नलाई सूचीकृत गराउने प्रकृया अघि बढाइसकेको छ । जसअन्तर्गत स्थानीय तहमा रोजगार संयोजकको नियुक्तिसमेत सरकारले गरेको छ ।

रहस्यमै दुई अपराध
वर्ष ०७५ भर अत्यधिक चर्चामा रहेका घटना हुन्– निर्मला पन्त बलात्कारपछि हत्या र पूर्वराजदूत केशब झा हत्या प्रकरण । १० साउनमा कञ्चनपुरमा हत्या गरिएकी बालिका निर्मलाको हत्यारा अझै पहिचान हुन सकेको छैन । यस्तै, पूर्वराजदूत झाको आफ्नै घरभित्रै राति धारिलो हतियार प्रहार गरी हत्या भएकोमा अपराधी पहिचान हुन सकेको छैन । फ्रान्सका लागि पूर्व नेपाली राजदूत झाको ४ भदौमा हत्या भएको थियो । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले झाकै घरमा सुरक्षा गार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालिको काम गर्ने आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई नियन्त्रणमा लियो । तर, अनुसन्धानको क्रममा तिनैजनाको संलग्नता पुष्टि हुन नसकेपछि उनीहरु छुटे ।

३३ किलो सुन प्रकरण
३३ किलो सुन तस्करी प्रकरण पनि यो वर्ष सर्वाधिक चर्चामा रह्यो । तर, सुनकाण्डका मुख्य अभियुक्तबारे कुनै पत्तो लाग्न सकेको छैन । ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या ०७४ कै घटना भए पनि २०७५ मा यसबारे व्यापक अनुसन्धान र खोजबिन भएको थियो ।

जसले ०७५ मा ज्यान गुमाए
वर्ष ०७५ मा केही प्रतिष्ठित व्यक्तिहरूको मृत्यु भयो । जसमा बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री, वरिष्ठ सर्जन, पञ्चायतका सूत्रधारसमेत रहेका छन् । फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बहालवाला मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गयो । त्यसैगरी वृद्धभत्ताका सूत्राधार मानिने नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका भरतमोहन अधिकारीको फागुन १८ गते निधन भयो । २०५१ सालको कम्युनिस्ट सरकारका अर्थमन्त्री रहेका अधिकारी आफ्नो गाउँ आफै बनाउँ लगायत लोकप्रिय कार्यक्रमका योजनाकार थिए ।
३ पुसमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भयो । लामो समयदेखि कलेजोसम्बन्धी रोगका कारण कमजोर बनेका गिरीको ९३ वर्षको उमेरमा निधन भएको हो । ०१७ सालमा पञ्चायती व्यवस्था स्थापना गर्नुपूर्व नेपाली काँग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रूपमा चिनिन्थे । ०५९ सालमा पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गिरी मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पनि असार ४ गते निधन भयो । पूर्वस्वास्थ्य मन्त्री समेत रहेका देवकोटाले नेपालमा जटिल खालका अप्रेसन गरेका थिए ।

नेकपामा प्रदेश सांसद उत्तरकुमार वलीको १० फागुनमा निधन भयो । माघ २४ गते कार दुर्घटनामा घाइते भएका सांसद वलीको १० फागुनमा निधन भएको थियो । भक्तपुर १ (क) बाट निनिर्वाचित प्रदेश नम्बर ३ का नेकपा सांसद हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा निधन भयो । मस्तिष्कघातका कारण काठमाडौँको केएमसी अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो । यस्तै गण्डकी प्रदेश सांसद बागलुङ २ (ख)का प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत मङ्सिर २७ मा निधन भयो । राष्ट्रिय जनमोर्चाका तर्फबाट उनी प्रत्यक्ष निर्वा्चित सांसद थिए ।

करिब छ वर्षअघिदेखि अर्धचेत अवस्थामा रहेका काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको पनि असोजमा बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भयो । मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको १८ कात्तिकमा मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा निधन भयो । पहिलो संविधानसभा सदस्य एवं उद्योगपति दिवाकर गोल्छा र गुल्मीका पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीको पनि चैतमा निधन भयो ।

वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको १२ फागुनमा विराटनगरमा निधन भयो । पोखरेलले १ सय ३० भन्दा बढी पुस्तक लेखेका छन् ।

नेपालमै पहिलो स्याटेलाइट
भूउपग्रह वैज्ञानिकद्वय आभास मास्के र हरिराम श्रेष्ठले नेपालमा पहिलो स्याटेलाइट बनाए । जापानमा नेपाली आर्थिक स्रोत र जनशक्ति परिचालन गरी उनीहरुले नेपाललाई पहिलो भूउपग्रह नेपालीस्याट १ दिएपछि मास्के र श्रेष्ठको चर्चा चुलियो । नेपाल सरकारका तर्फबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) बीच सम्झौता भई करिब १ वर्ष ६ महिनामा नेपालीस्याट १ बर्ड्स(३) परियोजनाअन्तर्गत बनाइएको यो स्याटेलाइटले भविष्यमा उन्नत किसिमको तस्बिर आफै खिच्न सक्नेछ । निर्माण तथा परीक्षणपछि सञ्चालन तयारीमा रहेको नेपालीस्याटको प्रक्षेपण भने ४ वैशाख ०७६ मा हुँदैछ ।

सांसद बनेका मनाङ्गे गोलघरमा
दीपक मनाङेको ‘गुण्डा’ परिचय फेरिएको थियो । उनी माननीयज्यू, बनिसकेका थिए, छन् । तर समयको खेल न हो, २०६१ सालमा गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा वर्ष–२०७४ माघमा पुनरावेदन अदालतको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो । २८ साउन ०६९ मातत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको फैसला एकाएक सार्वजनिक भएसँगै मनाङे अप्ठेरोमा परेका थिए । स्वयंभूस्थित एक घरमा शारीरिक व्यायाम गर्दै गरेको अवस्थामा मनाङेलाई सादा पोसाकका प्रहरीले वर्ष–०७५ वैशाख ७ मा नियन्त्रणमा लिएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।