वासिंटन । बुधबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि केही मानिसले ‘वासिंटन पोस्ट’ अखबार बाँडिरहेका थिए । उक्त अखबारको पहिलो पृष्ठमा मुख्य समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको विवरण उल्लेख थियो ।एकाबिहानै मानिसले यस्तो समाचारलाई ‘अप्रत्याशित’ मान्नु स्वाभाविकै थियो । र, समाचारको मुख्य शीर्षकमा पनि ‘अप्रत्याशित’ नै लेखिएको थियो । ‘अप्रत्याशित : ट्रम्प ह्वाइट हाउसबाट बिदा, संकट अन्त्य’ शीर्षकको उक्त समाचारले धेरैको ध्यान आकर्षित गर्यो ।
ट्रम्पका विरोधीहरुले खुशी मनाउन थाले । सामाजिक सञ्जालमार्फत समाचार भाइरल बन्यो र विदेशमा पनि ट्रम्पका विरोधीहरु खुशी देखिए । केहीबेरमा वास्तविकता उजागर भयो । कसैले वासिंटन पोस्टका नाममा नक्कल गरेर अखबार प्रकाशित गरेको रहेछ । उक्त अखबारमा मितिसमेत १ मे, २०१९ राखिएको थियो ।
वासिंटन पोस्टका प्रवक्ताले आफ्नो अखबारलाई गलत रुपमा प्रयोग गरिएकोमा आपत्ति जनाएका छन् । उनले पाठक वर्गमा पर्न गएको भ्रमबाट वासिंटन पोस्ट परिवार चिन्तित भएको उल्लेख गरेका छन् । वासिंटन पोस्टको नाम दुरुपयोग गरेर कसले यसरी अखबार प्रकाशित गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।
मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने विषयमा अमेरिकामा राजनीतिक संकट बढ्दै गएको अवस्थामा ‘फेक न्यूज’ फैलाइएको हो । राष्ट्रपति ट्रम्पले पर्खाल लगाउने अडान लिएका छन् भने डेमोक्रेटिक सांसदहरु ट्रम्पको सो योजनाको विपक्षमा छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले डिनरका लागि बोलाइएका पाहुनालाई फास्टफुड खुवाइर बिदा गरेका छन् । ह्वाइट हाउसमै डिनरका लागि निम्त्याइएका ती पाहुनालाई रेस्टुरेन्टबाट मगाइएका फास्टफुड खुवाएर पठाइएको हो ।
समाचार एजेन्सीहरुका अनुसार राष्ट्रपति ट्रम्पले सोमबार साँझ एउटा कलेजको फुटबल टिमलाई सम्मान गर्नका लागि ह्वाइट हाउसमा बोलाएका थिए । डिनरसहितको कार्यक्रम रहे पनि उनले फास्टफुड खुवाएर खेलाडीलाई बिदा गरेका हुन् ।
बजेट पारित नहुँदा अमेरिकाका संघीय कर्मचारीहरु तीन हप्ताभन्दा लामो समयदेखि तलबविहीन भएका छन् । कयौं कार्यालय बन्द छन् । कर्मचारीहरु बिदामा बस्न थालेका छन् । ह्वाइट हाउसका भान्छेसमेत बिदामा गएका कारण राष्ट्रपति ट्रम्पले ती फुटबल खेलाडीलाई डिनरको व्यवस्था गर्न नसकेका हुन् । उनले आफ्नै नीजि खर्चमा रेस्टुरेन्टबाट फास्टफुड मगाएर खुवाउनु परेको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।
केहि समयअघि राष्ट्रपतिले मनपरी गर्न खोजेको भन्दै अमेरिकी रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका थिए । सिरियालगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत भएका रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको पुष्टी गर्दै नयाँ रक्षामन्त्री छिट्टै नियुक्त गर्ने घोषणा गरेका छन् । म्याटिस आगामी फेब्रुअरीबाट सेवानिवृत्त हुने छन् । रक्षामन्त्रीको राजीनामालाई अमेरिकी राष्ट्रपति ट्रम्पका लागि अर्को ठूलो झट्काको रुपमा हेरिएको छ ।
ट्रम्पले सिरियामा आईएसविरुद्धको लडाईं समाप्त भएको उद्घोष गर्दै त्यहाँ तैनाथ सम्पूर्ण सेनालाई अमेरिका फर्काउने घोषणा गरेका थिए । ट्रम्पको यो कदमले मध्यपूर्वको शान्ति व्यवस्थामा गम्भीर खलल आउने र रुसी प्रभाव बढ्ने रक्षामन्त्री म्याटिसको ठम्याइ छ ।