आँधीका कारण इन्डोनेसियाका २० हजार विस्थापित

जाकार्ता / इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट झण्डै २० हजार विस्थापित भएको पाइएको छ । उद्धार कार्यमा खटिएकाहरुले ज्वालामुखी विस्फोटपछि भीषणरुपमा आएको सामूद्रिक छालका कारण धेरै जना विस्थापित भएको विवरण प्राप्त भएको हो । फेरी पनि ज्वालामुखी आउने डरका कारण पनि कतिपय विस्थापित आफ्नो घरमा नफर्किएको अधिकारीहरुले बुधबार जनाएका छन् ।

इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण विस्थापित हुनेहरुको कुल सङ्ख्या २१ हजार नौ सय २१ रहेको छ । प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले दिनप्रतिदिन विस्थापित हुनेहरुको सङ्ख्या बढ्दै गएको विवरण आएको बताउनुभयो । घटनामा परी अहिलेसम्म चार सयभन्दा बढीको मृत्यु भएको छ भने १४ सयभन्दा बढी घाइते भएका छन् ।

खोजी तथा उद्धारकार्य अझै पनि जारी रहेकाले मृतक, घाइते र विस्थापितको सङ्ख्या अझै बढ्नसक्ने सुटोपोले बताउनुभयो । प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएको प्रवक्ता सुटोपोको भनाई छ । इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ । शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीले ‘क्राकाटोआ’ नामकरण गरेका छन् । भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।

यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि जुन, अगस्ट र सेप्टेम्बरमा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीका कारण दुई हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।