बनेपा । मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो ।
साधारण कम्प्युटरले भन्दा हजारौँ गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर (फिजिक्स) डा. राजेन्द्र अधिकारी बताउँछन् । उनले भने, ‘तीव्र गणना तथा विशाल संग्रहण क्षमताका कारण सुपर कम्प्युटर धेरै क्षेत्रको अनुसन्धानमा उपयोगी हुन्छ। अहिले नेपाली वैज्ञानिक तथा इन्जिनियर ठूलो स्तरको ‘डाटा प्रोसेसिङ’ का लागि अन्य देशमा निर्भर हुनुपर्दा अनुसन्धान ढिलो भइरहेको छ।’
नेपालमै सुपर कम्प्युटरको प्रयोगबाट भूकम्प प्रतिरुपण (अर्थक्वेक मोडेलिङ), जलवायु परिवर्तन, एचवानएनवान भाइरस नियन्त्रण, रोगको आनुवंशिक विश्लेषण, वातावरणीय तथ्यांक विश्लेषणलगायत कैयन् विषयमा उच्चस्तरका अनुसन्धान गर्न सम्भव भएको अधिकारीको भनाई छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।