चिसोमा तताउने यि तीन रावल नेता

काठमाडौं, १५ पुस । पुसको मध्य । चिसो ह्वात्तै बढेको छ । बिहान र बेलुका त गाउँसहरमा बाहिर निस्कनै मुस्किल छ । यस्तो पुसे ठण्डीमा भने राजनीति तातिरहेको छ ।

यसरी मध्य पुसको ठण्डीमा राजनीति तताउने संयोगले तीनैजना रावल बन्धु परेका छन् । उनीहरू हुन् भीम रावल, तिलक रावल र झपट रावल । तिलकबाहेक भीम र झपट रावल राजनीतिमा आबद्ध छन् । दुवै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद हुन् । तिलक भने आस्थाले नेपाली कांग्रेस निकट हुन् । उनी राष्ट्र बैंकका पूर्वगभर्नर हुन् ।

भीम र झपट आफ्ना अभिव्यक्ति र बोलीका कारण चर्चामा आएका हुन् । दुवै सुदूरपश्चिमका नेता हुन् । भीम रावल तार्किक, स्पष्ट वक्ता र आफूलाई मनमा लागेको कुरा निर्धक्क भन्न सक्ने नेता हुन् । उनले पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदनविरुद्ध छुट्टै प्रस्ताव दर्ता गरे ।

केही समयअघि सम्पन्न एसिया प्यासेफिक समिटमा सरकारलाई सहभागी गराएको भन्दै प्रधानमन्त्री केपी ओलीको कडा आलोचना गरे । पार्टीमा माधवकुमार नेपाल पक्षीय नेता भए पनि भीम रावल कसैको पनि आलोचना गर्न बाँकी राख्दैनन् । भीम रावल पछिल्लो समय सकारात्मक चर्चामा छन् ।

झपट रावल भने प्रतिनिधिसभा बैठकमा ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनावश्यक रूपमा हिँड्डुल गर्न प्रतिबन्ध लगाउनुपर्छ’ भन्ने अभिव्यक्तिका कारण चर्चामा आएका छन् । आफ्ना अभिव्यक्तिका कारण झपट अहिले आलोचित छन् ।

राजाबाट स्वतन्त्र नागरिकको हैसियतमा रहेका ज्ञानेन्द्र शाहलाई हिँड्न नै प्रतिबन्ध लगाउनुपर्ने माग तानाशाही सोच भएको भन्दै उनको आलोचना भएको हो ।

उता, तिलक रावल भने पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको आरोपमा चर्चामा छन् । रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

१० रुपैयाँको नोट छाप्दा कमिसनकै लोभमा कमसल छापेर राष्ट्रलाई घाटा पु¥याएको भन्दै अख्तियारले उनीसँग ९० लाखभन्दा बढी मागदाबी गरेको छ । उनीसँगै अन्य दुईजनाविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।