कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा

१७ मंसिर, दमौली ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ। पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएको तनहुँ कांग्रेसले जनाएको छ। अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्। पौडेल रिहा भएपछि घटनाको विषयमा थप रणनीति तय गर्न नेताहरु कांग्रेस तनहुँ जिल्ला कार्यालयमा भेला भएको खबर छ । बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको थियो । नेता पौडेल पक्राउ परेको विषयको चौतर्फी विरोध भएपछि प्रहरीले भर्खरै नेता पौडेलसहित पक्राउ परेका कांग्रेसका नेता तथा कार्यकर्तालाई रिहा गरेको हो । नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल बुधबार स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर उद्घाटनका लागि पौडेललाई बोलाएका थिए।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।