साथीहरु मेरो कार्यक्षमता देखेर आत्तिएका हुन् : प्रम ओली

८ मंसिर,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको लोकप्रियता देखेर आत्तिएका विभिन्न पक्षले सरकार फेरिन लागेको जस्ता नकारात्मक हल्ला फैलाएको आरोप लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‌(नेकपा­) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा गुटसँग चर्कंदै गएको विवादबारे प्रष्ट उल्लेख नगरे पनि उनले प्रचण्ड र उनकै गुटविरुद्ध यो आरोप लगाएका हुन् ।ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा उनले सोमबार यस्ता भ्रम र हल्लामा विश्वास नगर्न पनि सबैसँग आग्रह गरे । घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्दै उनले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचार गलत भएको बताए ।

देशको समृद्धिका लागि सरकार लागिपरेको जनाउँदै उनले देशको समृद्धि देख्न नचाहने विभिन्न तत्व आफूविरुद्ध लागेको दाबी गरे । सरकार समृद्धिका लागि अघि बढिरहेको छ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध नै भ्रम फैलाइरहेका छन्, यो कार्य गलत हो, उनले भने ।

उनले छिमेकी राष्ट्रसँग दुईपक्षीय सम्बन्ध सुदृढ गर्ने सरकारको नीति रहेको उल्लेख गरे । भारतले मिचेको नेपाली जमिन फिर्ता लिन प्रयास गरेको, भारत(चीन दुवैसँगको सम्बन्ध अझ सुधारेको, बन्द नाका खोल्न सरकार सफल भएको उनको भनाइ थियो । उनले घुन्सा जस्तो दुर्गम गाउँ अबको ३ वर्षमै सुगम हुने दाबीसमेत गरे । उनले ताप्लेजुङको विकट क्षेत्रको विकास गर्न सरकारले यातायातलगायत पूर्वाधार निर्माणमा सघाउने वचनसमेत दिए ।

कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उहाँले बताउनुभयो । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उहाँको भनाइ थियो ।

सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई रु पाँच लाखको छात्रवृत्ति दिनुहुने भएको छ । उहाँले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गर्नुभएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेकपाका नेता सुवास नेम्बाङलगायतको सहभागिता थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।