एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । व्हाइट हाउसका सल्लाहकार स्टफेन मिलर र उच्च सैन्य अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पलाई कोरोना देखिएपछि मिलर आफू सेल्फ-आइसोलेसनमा बसेका थिए । मिलरलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
कोस्ट गार्डका अधिकारी एड्मिरल चार्ल्स रायलाई कोरोना संक्रमण देखिएपछि अधिकांश सैन्य अधिकारीहरु क्वारेन्टिनमा बसेका छन् । मिलरले मंगलबारअघि हरेक दिन कोरोना जाँच गर्दा नेगेटिभ आएको र आफू सेल्फ-आइसोलेसनमा बसेको बताएका छन् । उनलाई मंगलबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।उपराष्ट्रपति माइक पेन्सका प्रवक्ता रहेकी उनकी श्रीमति केटी मिलरलाई गत मेमा कोरोना संक्रमण भएर निको भएको थियो । जुलाईमा मिलरकी ९७ वर्षीया हजुरआमाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । तर, व्हाइट हाउसले भने उनको कोरोना संक्रमणबाट मृत्यु नभएको भन्दै अस्वीकार गर्दै आएको छ । उनलाई वृद्वावस्थाका कारण मृत्यु भएको बताइरहेको छ ।
त्यसैगरी कोस्ट गार्डका एडमरिल रायले आफूलाई सामान्य लक्षण देखिएको बताएका छन् । गत साता एक बैठकमा आफूलाई भेटेका सैन्य अधिकारीहरुलाई क्वारेन्टिनमा बस्न आग्रह गरेको बताएका छन् । उनी १० दिनअघि व्हाइट हाउस गएका थिए । उनलाई व्हाइट हाउस अथवा कहाँबाट कोरोना संक्रमण भयो भन्ने यकिन हुन सकेको छैन । एड्मिरल रायलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएपछि उपचाररत् अवस्थामा रहेकै बेला नाटकीय रुपमा ह्वाइटहाउस फर्किएको भन्दै उनको चर्को आलोचना भएको थियो । राष्ट्रपति ट्रम्प र अमेरिकी पहिलो महिला मेलानिया ट्रम्पलाई गत शुक्रबार कोरोना भाइरसको संक्रमण भएको थियो ।
उनी अस्पताल बसाईंपछि सोमबार व्हाइट हाउस फर्किएका हुन् । यति मात्र नभएर उनले ह्वाइटहाउस पुग्नासाथै बाल्कोनीमा फोटो खिचाउनका लागि मास्क खोलेर सबैलाई हात हल्लाएर अभिवादन गरेका थिए । जहाँबाट उनले सबैलाई अभिवादन गरे यतिखेर त्यहाँका थुप्रै कर्मचारी कोरोना पोजेटिभ भेटिएका छन् ।
उनले अब केही समयमै चुनाव प्रचार अभियानमा फर्किने पनि ट्विटरमार्फत जानकारी गराएका छन् । ह्वाइटहाउसमा फर्किनासाथ उनले अर्को एउटा भिडियो पनि पोस्ट गरेर सबै अमेरिकीहरुलाई काममा फर्किन आग्रह गरेका थिए ।ह्वाइटहाउसका फिजिसियन, डाक्टर सिन कोलेले सोमबार दिउँसो ट्रम्प पूर्ण रुपमा भाइरसबाट उम्किसकेका छैनन् भन्ने जानकारी दिएका थिए । तर पनि उनको मेडिकल टिमले उनको अवस्थामा सुधार आइरहेकोबारे भने स्वीकार गरेको छ । त्यस्तै ह्वाइटहाउस फर्किनुअगाडि ट्रम्पको रिपोर्ट नेगेटिभ आएको हो वा होइन भन्ने विषयमा केही खुलाइएको छैन । फिजिसियन कोन्लेका अनुसार ट्रम्पलाई अझै पनि एन्टिभाइरल ‘रेमडेभिसिभिर’ सँगै ‘स्टेरोइड डेक्सामिथेसोन’ को डोज लिइरहेका छन् । – बीबीसी ( Photo credit :Forbes )








