७ भाद्र, एजेन्सी ।
भारतीय अधिकारीहरु बलात्कारका आरोपी नित्यानन्दलाई खोजिरहँदा उनी भने दक्षिण अमेरिकामा ‘बाबा’ बनेर बसिरहेका छन् । यही शनिबार उनै ‘बाबा’ले ‘कैलाश रिजर्भ बैंक’ र आफ्नै नामको मुद्रा सार्वजनिक गरे । जसलाई उनले ‘कैलाशीयन डलर’ नाम दिएका छन् । यस मुद्राबारे कैलाशा वेबसाइटमा पनि यसको वैधानिकता दावी गरिएको छ । साथै उक्त मुद्रा यस बैंकले कुटनीतिक
सम्झौतामा हस्ताक्षर भएका देशमा मात्रै चालु हुने बताइएको छ । नित्यानन्दले यसलाई एक ‘कर्मकाण्डी’ सार्वजनिक मात्रै भनेका छन् । र यसको छिट्टै वास्तविक रुपमा सार्वजनिक गरिने उनले बताएका छन् । त्यसपछि भने उक्त मुद्रा कामकाजी नै हुने उनको दावी छ । नित्यानन्दले यसबारे युट्युबमा भिडियो समेत बनाएर यसबारे बोलेका छन् । उनले ७७ प्रकारका सिक्का बनाएर सार्वजनिक गरेको पनि बताएका छन् । तर हाल उनले ७ वटा कैलाशीयन डलर सार्वजनिक गरेको जनाए ।
यी सिक्का अन्तर्राष्ट्रिय बजारमा किमबेच भने गर्न नसकिने उनी बताउँछन् । तर अन्य वस्तुसँग विनिमय गर्न मिल्ने उनको दावी छ । नित्यानन्दले प्रतीक र छाप समेत आफ्नै बनाएका छन् ।नित्यानन्दमाथि २०१८ देखि भारतमा विभिन्न आपराधिक घटना गरेकोमा मुद्दा छन् । तीमध्ये बलात्कार काण्ड एक हो । भारतमै आफ्नै आश्रममा छँदा शिष्यलाई यौन शोषण, यातना र बलात्कार गरेको आरोप उनीमाथि छ ।
यही वर्षको फेब्रुअरीमा कर्नाटकको अदालतले नित्यानन्दमाथि २०१० को बलात्कार मुद्दालाई लिएर वारेन्ट जारी गरेको थियो । तर उनी २०१८ देखि फरार रहेको बुझिन्छ । उनीमाथि ‘ब्लु कर्नर नोटिस’ पनि जारी गरिएको छ ।








