२८ साउन,काठमाण्डौ ।
रुसले कोरोनाभाईरस बिरुद्द लड्नका लागि बनाएको भ्याक्सिनको विश्वासनियता माथि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रश्न उठाएको छ । रुसले विकसित गरेको खोपबारे जानकारी नभएकाले मूल्याङकन गर्न नसक्ने डब्लूएचओले प्रतिकृया जनाएको हो । डब्लूएचओका जरबास बारबोसाले कोरोना विरुद्धको खोप बनाउने जो कोहीले पनि डब्लूएचओले सिफारिस गरेको नियम पालना
गर्नुपर्नेमा जोड दिएका छन् । यो नियमले कोरोना विरुद्ध बनाइएको भनिएको खोप सुरक्षित रहने पनि उनको दाबी छ । गएको हप्ता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोना विरुद्धको खोप बनाउन अन्तराष्ट्रिय मापदण्ड पालना गर्न आग्रह गरेको थियो । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप अबको दुई महिनाभित्र धेरै मानिसलाई दिने तयारी भएको बताएका छन् । उनले आफ्नै छोरीलाई समेत खोप दिइएको बताएका थिए ।
कोरोना विरुद्धको खोप स्वीकृत गर्ने रुस पहिलो राष्ट्र बनेको छ । तर वैज्ञानिकले भने तेस्रो पटकसम्म परीक्षण नगरी खोप स्वीकृत गरेको भन्दै विश्वसनीयतामा प्रश्न उठाएका छन् । विश्व स्वास्थ्य संगठनले तीन चरणमा परीक्षण गरिएको ६ वटा खोपको सूची तयार गरेको छ । त्यो सूचीमा रुसले विकास गरेको खोप समावेश छैन । विश्वभर अहिले सय भन्दा धेरै खोप पहिलो चरणको परीक्षणमा रहे पनि सन् २०२१ अघि कोरोना विरुद्धको खोप आउनेमा धेरैले शंका व्यक्त गरेका बीबीसीले जनाएको छ ।








