२४ साउन, नयाँ दिल्ली ।
भारतको केरलामा एयर इन्डियाको विमान दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई पाइलटसहित २० जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार १९० जना यात्रु रहेको एयर इन्डिया एक्स्प्रेसको जहाज कोझिकोड विमानस्थलमा शुक्रबार दुर्घटना भएको हो । बोइङ ७३७ जेट विमान दुबईबाट कोरोनाका कारण त्यहाँ फसेका नागरिकलाई लिएर फर्किएको थियो ।
शुक्रबार बेलुकी करिब ७ : ४५ बजे विमान अवतरणका क्रममा दुर्घटना भएको थियो। अवतरणका क्रममा अगाडिको भाग जमिनमा पहिले ठोक्किएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
नागरिक उड्ययन प्राधिकरण प्रमुख अरुण कुमारका अनुसार विमान तीव्र गतिमा अवतरण गर्दा दुर्घटना हुन पुगेको हो । भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना भयो र विमान दुई टुक्रा भयो ।
दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ । त्यसमध्ये २० जना घाइते गम्भीर अवस्थाका छन् । सो विमानमा भिसाको म्याद सकिएका, जागिर गुमेका, घुम्न गएको बेला कोरोना महामारी सुरु भएपछि दुबईमै रोकिएका यात्रुहरु थिए । भारतको नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले दुर्घटनाको जाँच गर्न दुई वटा कमिटी गठन गरिएको जानकारी दिए । दुर्घटना भएपनि विमानमा आगो लागेको थिएन । photo : Agency







