२२ साउन,काठमाण्डौ ।
चिनियाँ कम्पनीले एप्पलविरुद्ध मुद्दा हालेको छ ।एप्पलले आफ्ना पेटेन्ट अधिकार चोरी गरेको आरोप लगाउँदै कम्पनीले मुद्दा हालेको हो । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी शांघाइ झिझेन इन्टेलिजेन्ट नेटवर्क टेक्नोलोजीले विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पलविरुद्ध झण्डै डेढ अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ । सिआओ आई नामले समेत चिनिने उक्त चिनियाँ
आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले एप्पलद्वारा आफ्ना पेटेन्ट चोरी भएको हुँदा १० अर्ब युआन क्षतिपूर्ति पाउनुपर्ने र एप्पलका त्यस्ता प्रडक्टहरुको उत्पादन, प्रयोग, बिक्री वितरण, आयात तथा बजारीकरणमा रोक लगाउनुपर्नेसमेत माग गरेको छ । आफूले सन् २००४ मा निवेदन दिएर सन् २००९ मा दर्ता गराएको भ्वाइस रिकग्निसन प्रविधिलाई एप्पलले आफ्नो सिरी प्रविधिमा नक्कल गरेर पेटेन्ट अधिकार उल्लंघन गरेको जिकिर सिआओको छ ।
अदालतमा आफूविरुद्ध चिनियाँ कम्पनीले दायर गरेको उक्त मुद्दाका विषयमा एप्पलले चाहिँ अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । स्मरण रहोस् पछिल्लो प्रकरण यी दुई कम्पनीबीच पछिल्लो एक दशकदेखि चलिरहेको पेटेन्ट विवादको निरन्तरता हो । यसअघि शांघाई झिझेनले एप्पलविरुद्ध चिनियाँ अदालतमा मुद्दा हालेको थियो । जसमा चिनियाँ सर्वोच्च अदालतले शांघाई कम्पनीको पेटेन्ट अधिकार आधिकारिक रहेको निर्णय गरेको थियो ।







