एजेन्सी ।
भिडियो शेयरिङ प्लेटफर्म टिकटकले अब आफ्ना प्रयोगकर्तालाई पैसा दिने भएको छ । टिकटकको मापदण्ड अनुसार १८ बर्ष माथिका व्यक्ति आफैले तयार पारेको ओर्जिनल कन्टेन्टमा मात्र यस्तो रकम दिइने बताईएको छ ।पैसा प्राप्त गर्ने मापदण्डबारे अरू विवरण खुलाइएको छैन । टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो ।
कम्पनीले करिब २४ अर्ब रुपैयाँको कोष बनाउन लागेको जनाएको छ । यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकको विश्वास छ । टिकटकका अनुसार उक्त कोषबाट यो वर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ ।विगतमा टिकटक प्रयोगकर्ताले लाइभ र ब्रान्डसँगको साझेदारीमार्फत मात्र आम्दानी गर्न सक्ने अवस्था थियो ।
टिकटकको पछिल्लो घोषणाले आम्दानीको आधार तयार गर्ने भएपछि प्रयोगकर्ताप्रति यसको आकर्षण कायमै रहने अपेक्षा गरिएको छ । टिकटकका प्रयोगकर्ताले कसरी उक्त रकम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धी बनाइरहने कम्पनीका प्रवक्ताले जनाएका छन् । एजेन्सी ।







