२४ घण्टामा २ लाख ८४ हजारमा कोरोना पुष्टि

१० साउन,काठमाण्डौ ।
विश्वमा लगातार कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित थपिदै गएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार शुक्रबार विश्वभर २ लाख ८४ हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो । यो अहिलेसम्म २४ घण्टामा पुष्टि भएको सर्वाधिक सङ्ख्या हो ।डब्ल्युएचओका अनुसार बितेका २४ घण्टामा २ लाख ८४ हजार १ सय ९६ जना संक्रमित फेला परेपछि संक्रमित संख्यामा नयाँ कीर्तिमान कायम भएको हो । यसअघि जुलाई १८ तारिक शनिबार एकैदिन २ लाख ५९ हजार ८ सय ५४ जना संक्रमित फेला परेपछि विश्वको दैनिक संक्रमित संख्यामा नयाँ कीर्तिमान बनेको थियो । अधिकांश सङ्क्रमितहरू अमेरिकी महादेशका राष्ट्रहरूमा फेला परेका हुन् । त्यसपछि दक्षिण तथा दक्षिणपूर्वी एशियामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या बढी छ ।
९७ लाख २३ हजार निको भए:आज बिहानसम्म संसारभरका ९७ लाख २३ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ९७ लाख २३ हजार ३६५ जना कोरोनाबाट निको भएका हुन् ।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ६ लाख ४२ हजार ६२२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड ५९ लाख ३९ हजार १७५ छ ।सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ४८ हजार ४९० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ४२ लाख ४८ हजार ३२७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७८ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार १४१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या २३ लाख ४८ हजार २ सय पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १७८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ८५ हजार ३८५ पुगेको छ ।छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ हजार ४०६ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ९५२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ३७ हजार २२ पुगेको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।