२ घण्टामै कोरोनाको एन्टीबडी परीक्षण

९ साउन,एजेन्सी ।
विश्वब्यापी रुपमा महामारी फैलाइरहेको कोरोना भाइरस संक्रमणको निदानका लागि विश्वभर थुप्रै प्रयासहरु भैरहेका छन । यसको परीक्षण र उपचारदेखि लिएर अचुक औषधि पत्ता लगाउने काममा विशेषज्ञहरु निरन्तर जुटिरहेका छन ।तर पनि औषधि पत्ता लागिनसकेको अवस्थामा जसोतसो कोरोना भाइरससंग बच्ने उपायको अवलम्बन र संक्रमित विरामीहरुको प्रयोगात्मक शैलीकै उपचारका भरमा संघर्ष गर्नुपरिरहेको अवस्था छ ।यहि विश्वब्यापी समस्यालाई मध्यनजर गर्दै सिंगापुरका वैज्ञानिकहरुले एउटा गतिलो उपायको पत्ता लगाएका छन । सिंगापुरस्थित ड्युक नस मेडिकल स्कुलका अनुशन्धानकर्ताहरुले कोरोना संक्रमित विरामीहरुको एन्टीबडीको परीक्षण गर्ने नयाँ र्यापिड टेस्टको विकास गरेका हुन ।

छोटो समयमा गर्न सकिने यो परीक्षणले कोरोना भाइरसको संक्रमणलाई केही मात्रामै भए पनि रोक्न सकिने वैज्ञानिकहरुले बताएका छन । एन्टीबडी परीक्षणमा आधारित वैज्ञानिकहरुको यो खोजले कम समयमा धेरै भन्दा धेरै ब्यक्तिको परीक्षण गर्न सकिनेछ ।जर्नल नेचर बायो टेक्नोलोजीमा प्रकाशित अनुशन्धान रिपोर्टका अनुसार यो अत्याधुनिक परीक्षण प्रविधिले कोरोना भाइरसलाई रोक्न सक्षम निष्किृय एन्टीबडीको पहिचान गर्छ । यो परीक्षणले तत्काल हुन सक्ने संक्रमणको दर र उपचारका क्रममा दिइएको औषधिको प्रभाव बारे पनि जानकारी दिन्छ ।

यो अनुशन्धानका क्रममा वैज्ञानिकहरु लिन फा वांग, डेनियल एन्डरसन र उनका साथीहरुको समुहले एक कृत्रिम भाइरस तयार पारेर त्यसमा हुने निष्प्रभाविकरणको परीक्षण गरेका थिए ।
यो प्रकृयामा कुनै पनि जिउँदो वा सक्रिय भाइरसको प्रयोग हुँदैन । ड्युक नस मेडिकल स्कुलका वैज्ञानिकहरुले तयार पारेको यो परीक्षण प्रकृया, परम्परागत परीक्षण प्रणाली भन्दा कैयौं गुणा छिटो हुन्छ । यो प्रकृयाबाट परीक्षण गर्दा एक देखि दुई घण्टा भित्र रिपोर्ट तयार पार्न सकिने वैज्ञानिकहरुले दावी गरेका छन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।