एजेन्सी । अमेरिकाको मिनियापोलिसमा प्रहरी नियन्त्रणका क्रममा मारिएका अश्वेत नागरिक जोर्ज फ्लयड कोरोना संक्रमित भएको पुष्टि भएको छ ।हेनेपिन काउन्टीको चिकित्सा परीक्षण कार्यालयले स्वर्गीय फ्लयडको परिवारको अनुमतिमा सार्वजनिक गरेको २० पेज लामो पोस्टमार्टम रिपोर्टमा फ्लयडमा कोरोना भाईरस संक्रमणको पुष्टि भएको उल्लेख छ ।
पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्दै मुख्य चिकित्सा परीक्षक एंड्र्यु बेकरले फ्लयडलाई तीन अप्रिलमै कोरोना संक्रमण भएको बताए । पोस्टमार्टम रिपोर्टमा मुटुले काम गर्न छाडेपछि फ्लयडको मृत्यु भएको उल्लेख छ ।कोरोनाको कुनै लक्षण नदेखिएको फ्लयडको फोक्सो स्वस्थ देखिएको र मुटुको धमनीमा आएको संकुचन नै मृत्युको कारण भएको एंड्र्यु बेकरले बताएका छन ।२५ मे मा भएको फ्लयडको मृत्युलाई बेकरले मानव हत्याको संज्ञा दिएका छन ।
जर्ज फ्लयडको मृत्युपछि अमेरिकामा सुरु भएको हिंसात्मक प्रर्दशन अझै जारी छ । कर्फ्युका बावजुद थुप्रै शहरमा विरोध प्रदर्शनहरु भैरहेका छन ।लस एन्जल्समा कर्फ्युका बावजुद विरोध जुलुस निकालिएको थियो । यसैबीच सेना परिचालन गर्ने योजनामा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार ह्वाईट हाउसमा गरिएको पत्रकार सम्मेलनमा केही नरम देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।







