२० अप्रिल,टोरन्टो ।
क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको भेषमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय घरमा आगोसमेत लगाइदिएका थिए । क्यानाडाको इतिहासमा सबैभन्दा विभत्स मानिएको यस घटनामा संलग्न व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएको प्रहरीले जनाएको छ ।
मारिएका व्यक्तिमध्ये एक जना प्रहरी अधिकृतसमेत रहेका छन् । हेलिफ्याक्सबाट उत्तरतर्फ करिब १०० किलोमिटरको दुरीमा रहेको सानो ग्रामीण सहर पोर्टापिकमा उक्त घटना भएको हो । प्रहरीका अनुसार एउटा सानो घरभित्र र बाहिर सबैभन्दा बढी मानिसका शव भेटिएका थिए । घटनालगत्तै प्रहरीले स्थानीयवासीलाई घरभित्रै बस्न र घरका ढोकामा ताला लगाउन अनुरोध गरेको थियो । क्यानाडा सहित यो ठाउँ पनि कोरोनाभाइरस महामारीका कारण लकडाउनको अवस्थामा छ ।
प्रहरीले बन्धुकधारी ५१ वर्षीय ग्याब्रिएल वोर्टम्यान भएको बताएको छ । उनी पनि पोर्टापिककै अस्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनले प्रहरीको पोसाक लगाउनुका साथै रोयल क्यानेडियन लेखिएको प्रहरी कारमा सवार थिए ।
“यो हाम्रो प्रान्तको इतिहासमा भएको हिंसाको सबैभन्दा विभत्स घटना हो,” नोभा स्कटियाका प्रमुख स्टिफन म्याकनिलले बताए । क्यानेडियन प्रहरीका प्रवक्ता डानियल ब्राइनले उक्त संदिग्धका अतिरिक्त १६ जनाको मृत्यु भएको पुष्टि गरे । क्यानाडामा सामूहिक गोलीकाण्डका घटना कमै हुने गरेका छन् । सन् १९८९ मा मोन्ट्रियलको इकोल पोलिटेक्निक कलेजमा बन्दुकधारी मार्क लेपिनले १४ जना महिलाको हत्या गरेपछि क्यानाडाले आफ्नो बन्दुक नियन्त्रण कानुनमा संशोधन गरेको थियो । एपी








