काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संयुक्त बैठकको संसदमा सरकारको २०७६,२०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ब्यक्त गरेको शब्द प्रति आएको आलोचनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकृया दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेको भन्दै नेपाली कांग्रेस र सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको बचाउ गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर २१ पटक सम्बोधन गरेको भन्दै कांग्रेसका कार्यकर्ता र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले व्यापक आलोचना गरेका छन् । उनले राष्ट्रपतिले अभिब्यक्त गरेको शब्दको बचाउ गरेका छन् ।
शनिबार बिहान सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय प्रचलन भएको बताएका छन् । ओलीको कड्काईमा आक्रोस समेत देखिएको स्रोत बताउछ ।
शुक्रबार संसदमा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्द पटक-पटक प्रयोग गरेकी थिइन् । यो शब्दले राजाकै झल्को दिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षलगायत राजनीति दलका नेताहरूले पनि राष्ट्रपतिको सम्बोधनको आलोचना गरेका छन् । कांग्रेस नेता गगन थापा, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले सामाजिक सञ्जाल मार्फत पनि आलोचना गरेका छन् ।
त्यस विषयमा सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले भने, ‘मैले मेरो देश भन्छु, तपाईँको अरुको होइन भनेको हो र ? मेरो भन्ने कुराको सामूहिक अर्थमा बुझ्ने प्रयास हो । राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै हो ।
त्यसैले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो । यो अन्तर्राष्ट्रिय प्रचलन पनि हो । यसअघिका राष्ट्रपतिको सम्बोधन युट्युबमा हेर्नुभयो भने पनि यस्तै भनेको देखिन्छ ।’








