कोष्टा रिकामा डिएचएलको कार्गो बिमान २ टुक्रा भएपछि

२६ चैत्र,एजेन्सी ।
जर्मनीको लजिस्टिक कम्पनी डीएचएलद्वारा सञ्चालित बोइङ ७५७ कार्गो विमान धावनमार्गमा चिप्लिएपछि दुई टुक्रा भएको छ । मध्य अमेरिकी मुलुक कोष्टा रिकाको राजधानी सान होजेस्थित हुआँ सान्टामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अवतरण गर्ने क्रममा विमानमा हाइड्रोलिक समस्या आएपश्चात धावनमार्गबाट चिप्लिएको हो ।ग्वाटेमालाका लागि उडेको विमानमा समस्या देखिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आकस्मिक अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानतर्फ पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

स्थानीय ला नेसियन समाचारपत्रले सार्वजनिक गरेको तस्वीरमा पहेँलो रङ्ग पोतिएको विमान दुई टुक्रा भएको देखिन्छ । दुर्घटनाका क्रममा यस विमानमा सवार कसैलाई केही नभएपनि एकजनाको स्वास्थ्य परीक्षण भइरहेको डीएचएल कम्पनीले जनाएको छ ।

कम्पनीले दुर्घटनाको ठोस कारण पत्ता लगाउन अनुसन्धान अगाडि बढाएको जनाइएको छ । दुर्घटनाका अनुसन्धानका लागि कम्पनीले स्थानीय अधिकारीसँग सहकार्य गर्ने बोइङले जनाएको छ ।
दुर्घटनाका कारण केहीबेर विमानस्थलको गतिविधि रोकिँदा ८ हजार ५ सय यात्रु र ५७ व्यावसायिक उडान प्रभावित भएको विमानस्थल सञ्चालक कम्पनी एरिसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।