पल शाह प्रकरण : घरधनी दम्पतीको बयान–‘पल र बालिका सँगै बसेका थिए’

२३ फाल्गुन,काठमाण्डौ ।
जबरजस्ती करणीको अभियोगमा न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन् ।आईतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ । १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।फागुन ११ मा बालिकाले दिएको जाहेरीमा २०७८ वैशाख १४ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापाको घरमा पलले बलात्कार गरेको जिकिर गरिएको छ ।

तनहुँ प्रहरीले घरधनी प्रदिप थापा र उनकी पत्नीसँग बयान लिएको छ । घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालिका सँगै बसेका हुन् ।’ घटना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बालिकाको उजुरीलाई सहयोग पुग्नेगरी बयान दिएका छन् ।

यस अघि कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले बयान दिईसकेका छन् । आईतबारसम्म ५ जनाको बयान सकिएको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताए । उनले भने–‘बयानसँगै प्रमाण संकलन गर्ने काम भइरहेको छ ।’

आरोपी पल शाहले चाहिँ तनहुँका अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीसँगको बयानमा आरोप अस्वीकार गरेका हुन् । प्रहरीले पीडित बालिकाको पनि घटना विवरण कागज गराएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।