५ मंसिर, काठमाडौं ।
युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गर्नुभएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नुभएको हो ।
मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने उद्घोष गर्नुभएको थियो । तिन दिने जिल्ला भ्रमणमा निस्कीनुभएका मन्त्री अथकले आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्ने क्रममा आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्याक्रममा बोल्दै अथकले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं मन्त्री अथकले खनफ्नै कार्यकालमा पुर्वाधार निर्माणको प्रक्रिया सुरु गरीने प्रतिवद्धता जनाउनुभएको छ ।
रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने एकेडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरीएको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “यो बहुवर्षिय योजना हो, आगामी ३ वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालै पुर्वाधार निर्माणको काम अगाडी बढाईन्छ ।” एकेडेमीको संरचना अनुसार क्रमशः बजेट बढ्दै जाने उहाँले बताउनुभयो ।








