२२ चैत्र,काठमाण्डौ ।
दक्षिण कोरियामा बसोबास गर्ने नेपाली लगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा भिषा थप नहुने भएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँ स्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको
छ ।न्याय मन्त्रालयको पत्रानुसार नेपाली राजदूतावासले पनि एक सूचना जारी गर्दै नेपालीहरूलाई उक्त कुरा जानकारी गराएको छ । विशेषगरी इपिएस माध्यमद्वारा इ नाइन भिसामा आउने नेपाली श्रमिकको शुरुमा तीन वर्षको सम्झौता हुन्छ भने बाँकी एक वर्ष १० महिना प्रवेशाज्ञा थपिने हुन्छ तर अबको नयाँ नियमानुसार राहदानीको अवधि नभएमा प्रवेशाज्ञा नथपिने भएको हो ।
यो नियम आगामी जुलाई १ तारिखदेखि लागु हुँदैछ । कोरियामा एफ फाइभ, एफ टु फोर, जी वान सिक्स भिसाबाहेक अन्य भिसावाहक विदेशी नागरिकको भिसा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने छ । विविध कारण तत्काल राहदानी नवीकरण गर्ने अवस्था नभएमा कारण हेरेर आगामी डिसेम्बरसम्म मात्र भिसा थप हुन सक्ने पनि बताइएको छ । File Photo : Google







