म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्न सक्ने अमेरिकी राष्ट्रपतिको चेतावनी

म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्न सक्ने अमेरिकी राष्ट्रपतिको चेतावनीअमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता कब्जा गरेको म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्ने सक्ने चेतावनी दिएका छन्‌।

तत्काल निर्वाचित जनप्रतिनिधिलाई सत्ता नसुम्पिए फेरि प्रतिबन्ध लगाउने चेतावनी बाइडेनले दिएको बीबीसीले जनाएको छ।
यसअघि पनि लोकतन्त्रको दिशामा अघि बढेपछि म्यानमारमाथि लगाएको प्रतिबन्ध हटाएको स्मरण गर्दै बाइडेनले लोकतन्त्रविरुद्ध हमला भएमा अमेरिका जस्तोसुकै परिस्थितिमा पनि त्यसको विपक्षमा उभिने उल्लेख गरेका छन्‌। विश्वसनीय चुनावमा नागरिकले व्यक्त गरेको मतलाई दबाउने प्रयास गरिनु घातक हुने बाइडेनले बताएका हुन्‌‌।

म्यानमारको सेनाले हिजो (सोमबार) शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायतका नेताहरूलाई हिरासतमा राखेको छ। साथै, एक वर्षसम्म संकटकाल घोषणा गरेको छ।

म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आज म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने तयारी गरेको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।