एजेन्सी ।
अमेरिकी संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थकले हतियारसहित पसेर आतंक मच्चाएपछि राजधानी वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । हिंसात्मक झडपमा प्रहरीको गोली लागी चार जना मारिएका छन् ।संसदले नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावको नतिजा अनुमोदन र प्रमाणीकरण रोक्न ट्रम्पको आह्वानमा हतियारधारी समर्थकले प्रदर्शन र आक्रमण गरेका हुन् ।
तीन घण्टा संसद भवन नियन्त्रणमा लिएका उनीहरुले संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा तोडफोड गरे ।आफ्ना समर्थकहरुले संसद भवनमा हिंसात्मक प्रदर्शन मच्चाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अप्ठ्यारोमा पर्नुभएको छ । क्यापिटल भवनमा आक्रमण गरेपछि रुष्ट बनेका ट्रम्पका सहयोगी र कर्मचारीले धमाधम राजिनामा दिन थालेका छन् ।
राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ट्रम्पका समर्थकबाट भएको गतिविधिलाई राज्यविरुद्ध विद्रोहको संज्ञा दिनुभएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाले संसद भवनमा ट्रम्पकै योजना र उक्साहटमा आक्रमण गरिएको भन्दै निन्दा गर्नुभएको छ ।अर्का पूर्वराष्ट्रपति जर्ज डब्लु बुशले पनि घटनाको निन्दा गर्नुभएको छ । उपराष्ट्रपति माइक पेन्सले संसद भवनमा आक्रमण गर्नेहरु पराजित भएको भन्दै अमेरिकी संविधान र कानुनी सर्वोच्चताको पक्षमा जोड दिनुभएको छ ।
उता, वासिङ्टन डिसीका महान्यायाधिवक्ता कार्ल रेसिनले संविधानको २५ औं संशोधन ब्युताएर राष्ट्रपति ट्रम्पलाई अपदस्थ गर्न उपराष्ट्रपति पेन्ससँग अपिल गर्नुभएको छ । उपराष्ट्रपतिले तत्काल क्याबिनेट बैठक बोलाएर राष्ट्रपतिलाई हटाउनुपर्ने तथा आफूले सत्ता समाल्नुपर्ने उहाँको सुझाव छ ।अमेरिकी संविधानले राष्ट्रपति असक्षम देखिए संसद वा क्याबिनेटको बहुमत पुर्याएर शक्ति आफ्नो हातमा लिने अधिकार उपराष्ट्रपतिलाई दिएको छ । सोही व्यवस्था ब्युताउँन उहाँले सुझाव दिनुभएको हो ।
यसैबीच सिनेटका बहुमत नेता मिच म्याक्कोनेलले पनि संसद भवनमाथि भएको आक्रमणको निन्दा गर्दै अमेरिकी कानुनी सर्वोच्चतालाई कसैले पनि चुनौती दिन नहुने बताउनुभएको छ ।
आक्रमणपछि अवरुद्ध संसदको बैठक शुरु भएलगत्तै सम्बोधन गर्दै म्याक्कोनेलले संविधानले दिएको अधिकार र जिम्मेवारी पूरा गरेरै छाड्ने अठोट व्यक्त गर्नुभयो ।
यसैगरी सिनेटमा अल्पमतका नेता चक शुमरले यस दिनलाई अमेरिकी इतिहासमा कालो दिनको संज्ञा दिनुभएको छ ।उता, राजधानीको सुरक्षा व्यवस्थामा सघाउन न्यूयोर्कका गभर्नर एन्ड्रिउ क्युमोले एक हजार सुरक्षाकर्मी पठाउनुभएको छ ।शक्ति हस्तान्तरण प्रक्रियालाई शान्तिपूर्ण रुपले पूरा गर्न नेशनल गार्डकै आग्रह अनुसार न्यूयोर्क नेशनल गार्डका एक हजार सुरक्षाकर्मी परिचालन गरिएको गभर्नर क्युमोले जानकारी दिनुभयो । यो टोली कम्तिमा दुई हप्ता राजधानी वासिङ्टनमा खटिनेछ ।








