रास्वपामा राजनीतिक विचलन

असार ३ आइतबार |
राजनीतिबाट बिचलित भएका, पुराना राजनीतिक दलहरुमा रहेर राजनीति स्वार्थ र अवसर लिन नपाएका वा पटक पटक स्वार्थका आकाक्षीहरु अहिले पुराना र ठूला राजनीतिक दलहरुले मुलुकको आवश्यकता अनुसारको राजनीति गर्न नसकेको आरोप लगाउँदै अन्य तहबाट व्यक्तिगत स्वार्थ पुरा गर्न नसकेकाहरुले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा थुप्रिएका छन् ।

गत आवधिक निर्वाचनमा सोचेभन्दा धेरै मत परिणाम ल्याएर संसदमा चौथो ठूलो शक्ति बनेको रास्वपाको नेतृत्व विवादित र बद्नाम पात्र रवि लामिछानेले गर्दै आएका छन् ।

उनको छवि राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि बद्नाम छ । उनी अमेरिका बसेका बेला त्यहाँको ठगी प्रकरणमा अदालतमा मुद्दा बिचारधिन अवस्थामा रहेको चर्चा चल्ने गर्दछ ।

नक्कली पासपोर्ट र अवैध नेपाली नागरिकता प्रयोग गरेको विषयमा नेपालको सर्वोच्च अदालतमा नागरिकता सम्बन्धि मुद्दामा दोषी नदेखिए पनि उनले नेपाली नागरिकता अनधिकृत रुपमा प्रयोग गरेको भेटिएको छ भने सोही नागरिकता प्रयोग गरी राहदानी दुरुपयोग गरेको अभियोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।

त्यस्ता बद्नाम व्यक्तिले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा अन्य पदाधिकारी पनि स्वच्छ छविका देखिएका छैनन् । पार्टीको महामन्त्री एवम् नीति तथा विचार विवाद प्रमुख मुकुल ढकाल संयोजक तथा कमल सुवेदी र रमेश प्रसाई सदस्य रहेको मस्यौदा समितिले पार्टीको नयाँ युगको संकल्प नामक दस्तावेज तयार गरेको छ ।

अन्य ठूला र पुराना राजनीतिक दलहरु र नेताहरुबाट मुलुक संचालन हुन नसक्ने विभिन्न अनर्गल अरोप लगाउँदै तयार पारिएको दस्तावेजलाई सात भागमा विभाजित गरिएको छ ।

उक्त दस्तावेजमा परिचय सहित विचारधारा, मुख्य चरित्र र विशेषता, नीति, शासकीय स्वरुप, संगठनात्मक संरचना र संकल्प समावेश गरी पार्टी पदाधिकारी तथा कार्यकर्ताहरुबीच नै विवाद र तनाव उत्पन्न हुने भई तयार पारिएको छ ।

अगामी दिनमा पार्टीले अंगिकार गर्ने विचारधाराका साथै मुख्य चरित्र र विशेषता, शासकीय स्वरुप, संघीयता, आर्थिक नीति, अन्तर्राष्ट्रिय नीति जस्ता महत्वपूर्ण विषयमा विचारमै ध्रुवीकरण हुने गरी तयार गरिएको उक्त दस्तावेज माथि विभागले गत जेठ २४ देखि २७ गतेसम्म नीति विचार कार्यशाला संचालन गरी दस्तावेज मस्यौदा वितरण गरेको थियो ।

उक्त कार्यशालामा केन्द्रीय सदस्य, संसदीय दलका सदस्यहरु र प्रदेश पार्टी सभापति लगायत सहभागी थिए । यो समूहले बनाएको दस्तावेजलाई आगामी असार ७ गते पार्टी स्थापना दिवसमा सार्वजनिक गर्ने तयारी गरेको भए पनि पार्टी भित्रै विवाद उत्पन्न भएपछि सार्वजनिककरण अनिश्चित बनेको छ ।

विवादित मस्यौदामा संविधानवाद, समाजवाद र संवैधानिक समाजवाद पार्टी विचार धारा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, १५ सदस्यीय मन्त्री परिषद् गठन गर्नु पर्ने उल्लेख गरिएको छ ।

दस वर्षसम्म राजनीतिक दलको सदस्य नभएको व्यक्ति राष्ट्रपति बनाउन सकिने, उपराष्ट्रपतिमा राष्ट्रिय सभाका अध्यक्षलाई नै उपराष्ट्रपति मानिने र ३५ सदस्य राष्ट्रिय सभा गठन गरी प्रत्येक प्रदेशबाट पाँच जना गैरदलीय व्यक्तिलाई राष्ट्रिय सभामा चैन गर्न सकिने प्रस्ताव मस्यौदामा गरिएको छ ।

त्यसैगरी प्रदेश प्रमुख, प्रदेश सभा र प्रदेश मन्त्रालय खारेज गरी प्रदेशमा गभर्नर र प्रदेश परिषद् गठन गरिने छ ।

संवैधानिक परिषद् खारेज गरी राष्ट्रिय सभाको सिफारिसमा संवैधानिक नियुक्ति तथा संवैधानिक आयोगको संख्या सात र एउटा राष्ट्रिय समाजिक न्याय आयोग गठन गरी राज्य संरचना निर्माण गरिने प्रस्ताव दस्तावेजमा उल्लेख भएपछि सम्पूर्ण पार्टी पंक्तिमा तरंग ल्याएको छ ।

विगतमा फरक फरक राजनीतिक विचार बोकेका व्यक्तिहरु पार्टीमा संगठित भएर आएका र उनीहरुको राजनीतिक दृष्टिकोण पुरानै विचारबाट प्रभावित भएकाहरु र नयाँ सोच भनिएका व्यक्तिवादी चरित्र बोकेका विवादित छविका नेतृत्वबीच सैद्धान्तिक विचार नमिलेपछि मस्यौदा विवादमा परेको हो ।

रास्वपाको नेतृत्व व्यक्ति र हैकमवादी भएका कारण पार्टीका अन्य व्यक्तिहरुका राजनीतिक र सैद्धान्तिक विचारहरु माथि छलफल र बहस गर्ने नीति शून्य रहेको भए पनि व्यक्तिवादी चरित्रको नेतृत्वले ल्याएको मस्यौदा जवरजस्त लाद्दा पार्टी फुट्न सक्ने भएका कारण उक्त मस्यौदाको दस्तावेज सार्वजनिक हुन नसक्ने मस्यौदाकार महामन्त्री कालका साथै अन्य नेतृत्वले पनि सांकेतिक जनाउ गरेका छन् ।

गलत राजनीतिक दृष्टिकोण विचारमा आधारित रहेर तयार गरिएको मस्यौदा माथि बृह्द छलफल गरेर मात्र पारित गर्नुपर्ने एक थरी नेताहरु अडान राखेपछि रास्वपा नेतृत्व विलखबन्दमा परेको स्रोत बताउँछ ।

बहुमत सदस्य मस्यौदा जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा देखेको छ भने केही सदस्यहरु स्वाचालित राज्य प्रणाली बमोजिम पार्टीको सैद्धान्तिक मस्यौदा बन्नु पर्ने अडानमा देखिएपछि पार्टी नेतृत्व मस्यौदा स्वकृत गर्नेबाट पछि हटेको बताइएको छ ।

दस्तावेजमा पार्टीको विचारधारा संविधानवादका आधारभूत मुख्य तत्वमा नियन्त्रित सरकार, शक्तिको पृथकिकरण, विधीको शासन, व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार, जवाफ देहिता, संवैधानिक सर्वोच्चता, जननिहित केन्द्रियता सार्वभौमसत्ता सम्पन्न राज्य व्यवस्थाको प्रणाली लागू गरिने उल्लेख गरिएको छ ।

समाजवादका सूचकमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, स्वतन्त्रता र सामाजिक पूर्वाधार विकास राखेर संवैधानिक समाजवादलाई मार्ग चित्र र कार्यदिशाका सात बुँदामा व्याख्या गरेर प्रस्ताव गरिएको मस्यौदा छपाई सहित वितरणका लागि पूर्ण तयार गरिएको भए पनि आन्तिरिक विवादका कारण पार्टी विभाजन हुने संकेत देखिएपछि हाललाई स्थगन हुने संकेत पार्टी नेतृत्वले गरेको छ । गोलमेच साप्ताहिकबाट ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।