जेठ २१ आइतबार |
राजनीतिक आडमा धन्दा चलाउँदै कहिले कुन दलको साथ त कहिले कुन दलको सहयोग लिएका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईं पछिल्लो समय राजाको लगौटी समातेर बसेका छन् ।
बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न देशव्यापी अभियान छेडेका व्यसायी दुगाई प्रसाईंले मेडिकल इक्विपमेन्टको पैसा नतिरेको फेला परेको छ ।
आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल इक्विपमेन्टको पैसा लामो समयसम्म तिर्न उनले आनाकानी गरेपछि आपूर्तिकर्ताले अदालतमा मुद्दा दायर गरेको छ ।
प्रसाईंका दुई कम्पनी बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर अस्पताल लगायतले लिएको उधारो भुक्तानी नभएपछि विवाद अदालत पुगेको हो ।
१६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ साँवा र र कानुन बमोजिमको ब्याजसमेत माग गरेर सात वटा मुद्दा वैशाख २४ गते झापा जिल्ला अदालतमा दायर भएका छन् ।
दुई मुद्दा उनको पारिवारिक सदस्यसँग सम्बन्धित छन् । बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्ने अभियान सुरु गरेपछि संकटमा परेका प्रसाईंलाई अन्य क्षेत्रबाट समेत मुद्दाको दबाब सुरु भएको हो ।
कम्तीमा तीनदेखि सात वर्षसम्म उधारो रकम नपाएपछि आपूर्तिकर्ताले अदालतको ढोका ढक्ढक्याएका हुन् ।राजनीतिज्ञहरुको छत्रछायामा परिरहेका प्रसाईं भने पछिल्लो समय सामाजिक अभियान्ताका रुपमा देश दौडाहामा छन् ।
प्रसाईंसँगै बीएण्डसीका अन्य संचालक रामबाबु गिरी, इन्दिरा गिरी, डा.रइस पोखरेल र अनुजजंग रायमाझीलाई मुद्दामा विपक्षी बनाइएको छ ।
के कति दाबीको मुद्दा ?
जिल्ला अदालत झापा स्रोतका अनुसार हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्स लगायतले मुद्दा दायर गरेका छन् ।
सम्पूर्ण मुद्दा औषधि, मेडिकल सामानहरु, सौन्दर्य प्रबद्र्धन सामान र सरसफाईका सामानहरुको भुक्तानीसँग सम्बन्धित छन् ।
अस्पताल र प्रसाईंसमेतलाई विपक्षी बनाएर हस्पिटेक इन्टरप्राइजेजले ३ करोड १८ लाख ४७ हजार ९१६ रुपैयाँ असुल उपरको मागसहित मुद्दा दायर गरेको छ ।
यस्तै, हस्पिटेकले नै निरोज मेडिको टे«डर्स र उमा प्रसाईं विपक्षी बनाएर २ करोड १५ लाख ६७ हजार ६७१ रुपैयाँ साँवा र ब्याजसमेत भराउन माग गरेर मुद्दा दायर गरेको छ ।
बीएण्डसी र प्रसाईंविरुद्ध सबैभन्दा ठूलो माग दाबीको मुद्दा लाइफलाइन ट्रेड इन्टरनेशनलको छ ।जसमा रामबाबु गिरी, इन्दिरा गिरी, डा.रइस पोखरेल र अनुजजंग रायमाझी पनि विपक्षी छन् ।५ करोड २३ लाख १९ हजार २ सय ५ रुपैयाँ साँवा भुक्तानी बाँकी रहेको दाबी निवेदकको छ ।
तीन वर्षदेखि रकम भुक्तानी नभएकाले ब्याज समेत भराउन मुद्दामा माग गरिएको छ ।यस्तै, लाइफलाइन ट्रेड इन्टरनेशनल नै निरोज मेडिको ट्रेडर्स र उमा प्रसाईं विपक्षी बनाएर अर्को मुद्दा दायर गरेको छ ।कम्पनीले अदालतमा गरेको दाबीअनुसार आठ वर्षदेखि १ करोड ४१ लख ९८ हजार ९ सय ३३ रुपैयाँ बाँकी असुल भएको छैन ।
लाइफलाइनको तेस्रो मुद्दा पूर्वाञ्चल क्यान्सर अस्पताल र संचालक दुर्गा प्रसाईंविरुद्ध छ ।तीन वर्षदेखि १५ लाख १७ हजार १६ रुपैयाँ उठाउन बाँकी रहेको अदालतमा पेस गरेको मुद्दामा उल्लेख छ ।बैंक तथा वित्तीय संस्थामा तरलता अभाव रहेकाले पैसा तिर्न नसकेको जवाफ सप्लायर्सहरुलाई प्रसाईंले दिने गरेको पनि मुद्दामा उल्लेख छ ।
यस्तै, एसएस इन्टरप्राइजेज फर्मले निरोज मेडिको ट्रे.डर्स र उमा प्रसाईंलाई अर्को मुद्दा पनि दायर गरेको छ ।१ करोड ८ लाख २१ ह्जार ८ सय २२ रुपैयाँ तीन वर्षदेखि असुल गर्न नसकेको भन्दै मुद्दा दायर गरिएको हो ।बीएण्डसीलाई ट्रिनिटी फर्मास्युटिकल्स फर्मले पनि मुद्दा दायर गरेको छ
अस्पतालसहित संचालकहरु दुर्गा प्रसाईं, रामबाबु गिरी, इन्दिरा गिरी, डा.रइस पोखरेल र अनुजजंग रायमाझीलाई ट्रिनिटीले मुद्दामा विपक्षी बनाएको छ ।
२ करोड ८३ लाख ४३ हजार १ सय ९७ रुपैयाँ साँवा असुल बाँकी रहेको मुद्दामा उल्लेख छ ।सबै मुद्दामा जस्तै ट्रिनिटील पनि ब्याज भराइ पाउने दाबी गरेको छ ।
सम्पत्ति रोक्काको माग
मुद्दामा पक्षले पाँच प्रतिवादीको सम्पत्ति रोक्काको माग पनि गरेको छ ।विभिन्न स्थानमा रहेको अचल सम्पत्ति रोक्का गरिदिन विवरण पनि मुद्दामा उल्लेख गरिएको छ ।पाँच प्रतिवादको तोकिएको जग्गा कारोबार रोक्काको माग पनि मुद्दामा गरिएको छ ।
प्रसाईंको झापाको सुरुगा, धाइजन, अनारमनी, गरामनी लगायत क्षेत्रका ६ कित्ता जग्गा रोक्काको माग मुद्दामा गरिएको छ ।यस्तै, अनुजजंग रायमाझीको नाममा रहेको काठमाडौं डिल्लीबजारको एक कित्ता जग्गा रोक्काको आदेश गर्न माग गरिएको छ ।
डा.रइसको काभ्रे धुलिखेलको जग्गा रोक्काको माग गरिएको छ । ६ आनाको एक कित्ता जग्गा रोक्काको माग मुद्दामा गरिएको छ ।इन्दिरा गिरीको नाममा रहेको झापा, भक्तपुरको मध्यपुर थिमिलगायत स्थानका ९ कित्ता जग्गा रोक्काको माग मुद्दामा गरिएको छ ।सम्बन्धित मालपोतहरुलाई जग्गा रोक्काको आदेश गर्न पनि मुद्दामा दाबी लिइएको छ । ताजाखबर साप्ताहिकबाट ।








