जेठ १८ बिहीबार |
नक्कली भुटानी शरणार्थी काण्ड किन र कसरी भयो ? पहिलो त्यसको रहस्य पत्तो लगाउनु पर्ने हुन्छ । आजसम्म भएका ठुला ठुला भ्रष्टाचारका काण्डहरूमा तल्लो तहका केही व्यक्तिहरूलाई मुद्दा चलाइएको र ठुला ठुला पदमा पुगेका
राजनीतिज्ञहरूलाई पैसाको बलमा उन्मुक्ति दिएकै हुनाले पैसाको बलमा जस्तोसुकै अपराध गरेपनि उन्मुक्ति पाईन्छ भन्ने मनसाय राखेर नक्कली भुटानी शरणार्थी काण्ड रचिएको प्रष्ट हुँदै गएको छ ।
आफ्नो निहित स्वार्थका लागि नेपाली नागरिकलाई अनागरिक बनाएर अमेरिकको सपना देखाउँदै रकम बटुल्नु भनेको सामान्य भ्रष्टाचार मात्र नभएर त्यो प्रकरण राष्ट्रद्रोह र राज्य विरुद्धको अपराध समेत हो ।
आजसम्म भएका ठुला ठुला भ्रष्टाचारहरूमा ललिता निवास जग्गा काण्ड, बुढीगण्डकी जलविद्युत काण्ड, वाइडबडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, माओवादीका लडाकु राखिएको शिविरमा भएको घोटाला काण्ड, न्यारोवडी जहाज काण्ड, ३३ किलो सुन काण्ड, सुपारी र पोस्ता काण्ड लगायत दर्जनौँ काण्डहरूमा कुनै छानविन नै भएन ।
वितगमा पनि बालुवाटार, सिंहदरबार र मन्त्रिपरिषद्बाटै भएका भ्रष्टाचार जन्य कार्यका लागि सम्बन्धित मन्त्री र नेपाल प्रहरीका आइजीपीलाई मात्र दोष लगाएर निजहरूलाई राष्ट्रलाई हानी पु¥याएको आरोपमा जेल पु¥याइएको थियो ।
तत्कालिन गृहमन्त्रीको भनाईमा क्विन्टलका क्विन्टल सुन तस्करी छानविन विचैमा रोकिएको थियो किन ?
यी काण्डहरू त केही उदाहरण मात्र हुन् मन्त्रीहरूले गर्ने गरेका नीतिगत निर्णयमा समेत ठुलो भ्रष्टाचार भएको समाचारहरू प्रसारित र प्रकाशित हुँदै गरेका भए पनि त्यसरी नीतिगत भ्रष्टाचार मुछिएकाहरूलाई आजसम्म कुनै छानविन समेत गरिएको छैन किन ?
भ्रष्टाचारको पोल खुल्ने रउच्च तहका राजनीतिज्ञहरू नै फन्दामा पर्ने डरले गर्दा । तत्कालिन गृहमन्त्री रामबहादुर थापाले भुटानी शरणार्थी टेकनाथ रिजालको सल्लाहमै बालकृण पन्थीको संयोजकत्वमा नक्कली भुटानी शरणार्थीका विषयमा कमिटी बनाएका थिए ।
पन्थी समितिले दिएको प्रतिवदेन नै साटफेर कसरी भयो ? उच्च तहमा बसेका व्यक्तिहरूले सहमति नदिए के तल्लो तहका व्यक्तिले घुस लिन्थे होलान् भनेर पत्याउन सकिने अवस्था छैन ।
अहिले पक्राउ परेका व्यक्तिहरूले अन्य व्यक्तिहरूलाई समेत पोलेका भएपनि किन प्रहरीले उनीहरूलाई सामान्य सोधपुछ सम्म गरेको छैन ? आफूहरू ठगिएको भन्दै १ सय ८ जनाले मात्र प्रहरीमा उजुरी दिएका छन् ।
अहिलेसम्म ११ करोड ६८ लाख बाँडिएको भनिएता पनि बाँकी रहेको रकम कस्को भागमा परेको छ ?
प्रहरीका अनुसार १ सय ८ जनाबाट उठाएको रकम जोड्दा २८ करोड पुग्दछ । त्यसैले गर्दा यो प्रकरणको अझै अनुसन्धान हुन जरुरी रहेको छ ।
सूचीमा उल्लेख भएका सबै ४ सय ७५ जना पिडित सम्पर्कमा आउने हो भने झण्डै १ अर्ब रुपैँया ठगिएको हुन सक्छ तर कतिपय पैसा बुझाएका व्यक्तिहरू आफूँ पनि उल्टो कारबाहीमा परिने हो कि भन्ने डरले गर्दा प्रहरीमा उजुरी दिन आउन नसकेका हुनाले सरकारले उनीहरूलाई उजुरी दिनुहोस् भनेर सूचना जारी गरेको खण्डमा मात्र यस प्रकरणको सत्य तथ्य बाहिर आउन सक्छ ।
त्यसैले गर्दा यस प्रकरणमा अझै विस्तृत रुपमा छानविन गरिनु आवश्यक रहेको छ । अभियान साप्ताहिकबाट ।








