५५ खर्ब नाघेको बैंकहरूको निक्षेप फेरि घट्न थाल्यो

जेठ १२ शुक्रबार |
गएको आइतबार ५५ खर्ब तीन अर्ब रुपैयाँ पुगेको बैंक तथा वित्तीय संस्थाको निक्षेप अहिले घटेर ५४ खर्ब ९४ अर्बमा झरेको छ ।आइतबारयता नौ अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट गायब भएको देखिन्छ ।यसमध्ये वाणिज्य बैंकहरूबाट मात्रै आठ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ ।

आइतबार ४८ खर्ब ५४ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप त्यसको भोलिपल्टै ४८ खर्ब ४६ अर्बमा झरेको छ ।वैशाख मसान्तमा वाणिज्य बैंकहरूको निक्षेप ४८ खर्ब ४० अर्ब थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार विकास बैंक र फाइनान्स कम्पनीहरूसँग रहेको निक्षेप छ खर्ब ४८ अर्ब रहेको छ ।जुन आइतबारको तुलनामा एक अर्ब रुपैयाँले कम हो ।यद्यपि बैंकरहरूले पछिल्लो समयमा वित्तीय प्रणालीमा निक्षेप बढ्दै गएको दाबी गरेका छन् ।

विवरणअनुसार केही हदसम्म निक्षेप बढेको देखिन्छ । असारे बजेटका कारण पनि बजारमा निक्षेप बढ्ने अपेक्षा बैंकरहरूको छ ।

सरकारले असार अन्तिमसम्म निर्माण क्षेत्रका लागि भुक्तानी गर्ने भएकाले विकास खर्चको आँकडा बढ्न गई वित्तीय प्रणालीमा तरलता थप बढ्ने अपेक्षा गरिएको छ ।निक्षेप घटे पनि बैंकहरूले प्रवाह गरेको कर्जा एक अर्बले बढेको छ ।

आइतबार ४८ खर्ब ४७ अर्ब रहेको बैंकहरूको कर्जा प्रवाह त्यसयता एक अर्ब बढेर ४८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।यसमध्ये वाणिज्य बैंकहरूको ४२ खर्ब ९७ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीको पाँच खर्ब ५२ अर्ब रहेको छ ।

चर्कोे ब्याजदरका कारण कर्जाको माग न्यून हुँदा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४ दशमलव ८७ प्रतिशत कायम भएको छ ।जुन आइतबारको तुलनामा शून्य दशमलव १५ प्रतिशत विन्दुले बढी हो ।

आइतबार सीडी रेसियो ८४ दशमलव ७२ प्रतिशत थियो । बैंकहरूको अन्तरबैंक ब्याजदर सात प्रतिशत छ । (आर्थिक दैनिकबाट)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।