२७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

बैशाख १८ सोमबार | (रासस)
सरकारले थप २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।चालू प्रकृतिको खर्च जुटाउन नै समस्या भइरहेका बेला सरकारले रकम व्यवस्थापन गर्न राष्ट्र बैंकमार्फत ट्रेजरी बिल बिक्री गरी सो रकम ऋण लिनलागेको हो ।राष्ट्र बैंकका अनुसार २१ अर्ब १० करोड रुपैयाँ पुरानो ट्रेजर बिल नवीकरण गरिनेछ भने छ अर्ब रुपैयाँ नयाँ बिक्री गरिनेछ ।

ट्रेजरी बिलमा आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल गरिएको थियो । राष्ट्र बैंकका अनुसार ट्रेजरी बिलको निष्काशन वैशाख १९ गते मंगलबार हुनेछ ।

राष्ट्र बैंकले २८ दिन, ९१ दिन, एक सय ८२ दिन र तीन सय ६४ दिन अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । २८ दिनका लागि चार अर्ब रुपैयाँ, ९१ दिनका लागि आठ अर्ब १० करोड रुपैयाँ, एक सय ८२ दिनका लागि १३ अर्ब रुपैयाँ र तीन सय ६४ दिन अवधिका लागि दुई अर्ब रुपैयाँको बिल बोलकबोलमार्फत बिक्री गर्नलागेको राष्ट्र बैंकले जनाएको छ ।

यसरी बिक्री गरिने कुल ट्रेजरी बिलमध्ये ९१ दिन अवधिको आठ अर्ब १० करोड रुपैयाँमध्ये पाँच अर्ब १० करोड रुपैयाँ पुरानो नवीकरण गरिनेछ भने तीन अर्ब रुपैयाँ नयाँ बिक्री गरिनेछ ।

यसैगरी एक सय ८२ दिन अवधिको १३ अर्बमध्ये १० अर्ब पुरानो नवीकरण हुनेछ भने तीन अर्ब नयाँ बिक्री गरिनेछ । २८ दिन र तीन सय ६४ दिन अवधिका दुवै ट्रेजरी बिल पुरानो नवीकरण हो ।

२८ दिन अवधिको ट्रेजरी बिल २०८० जेठ १६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।यस्तै ९१ दिन अवधिको २०८० साउन १६ गते, एक सय ८२ दिन अवधिको २०८० कात्तिक १४ गते र तीन सय ६४ दिन अवधिको २०८१ जेठ १८ गते परिपक्व हुनेछ ।

गत साता पनि राष्ट्र बैंकले सरकारको लागि २८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरी आन्तरिक ऋण उठाएको थियो ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारका लागि दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनुपर्नेछ ।

आज बोलकबोल गर्न लागेको ट्रेजरी बिलमध्ये छ अर्ब रुपैयाँ सोही आन्तरिक ऋणको हिस्सा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गरेर सरकारको लागि आन्तरिक ऋण उठाउने गर्छ ।

चालू आर्थिक वर्षको चौथो त्रैमासिकमा राष्ट्र बैंकले एक खर्ब ३८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने तयारी गरेको छ ।

यसको लागि राष्ट्र बैंकले ७५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा उठाइने कुल आन्तरिक ऋणमध्ये एक खर्ब ५० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, एक खर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, पाँच अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र रहेको छ । (आर्थिक दैनिकबाट)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।