बैशाख १४ बिहीबार |
नेपाल राष्ट्र बैंकले दुई अर्ब १४ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीका लागि प्रस्ताव आह्वान गरेको छ । बुधबार एक सूचना जारी गरेर विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।राष्ट्र बैंकका अनुसार लगानी गरिने कुल रकममध्ये वाणिज्य बैंकहरुमा एक अर्ब ६० करोड १२ लाख रुपैयाँ, विकास बैंकहरुको लागि ३० करोड दुई लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुको लागि १० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले वैशाख १७ गतेसम्म लगानी लिन चाहेको रकम र ब्याज तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ ।निक्षेप २०८० जेठ ३ गतेदेखि २०८१ जेठ २ गतेसम्म एक वर्षका लागि राख्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप लिनका लागि तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको, सीडी रेसियो सीमाभित्र रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको, आर्थिक वर्ष २०७८÷०७९ मा सञ्चालन मुनाफामा रहेको, रियलस्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत राष्ट्र बैंकबाट जरिवानामा परी संस्थामा कायम रहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको, सर्वसाधारणलाई छुट्याएको सेयर जारी गरिसकेको राष्ट्रियस्तरका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले प्रस्ताव गर्न सक्नेछन् । (आर्थिक दैनिकबाट)