ग्रेसले बढीमा दश मन्त्रालय पाउने, प्रधानमन्त्रीको चाहना अर्थमा गगन

चैत ५ आइतबार |
शुक्रबार उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ । आज ५ गते प्रतिनिधिसभाको बैठक बसिरहेको छ । संसदको बैठक बसेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । हाल प्रधानमन्त्री दाहालले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।रास्वपा, राप्रपा र नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि उनीहरुले सम्हालेको मन्त्रालय नेतृत्वविहीन बन्न पुगेको छ । अब विस्तार हुने मन्त्रिपरिषद्मा एमालेले राजीनामा दिएका आठवटा मन्त्रालय र गृहमन्त्रालय समेत काँग्रेसले लिने तयारी भैरहेको एक नेताले बताएका छन् ।

एमालेले सम्हालेका अर्थ, परराष्ट्र, महिला तथा बालबालिका, भूमिसुधार, उद्योग, स्वास्थ्य, रक्षासहितका मन्त्रालय अहिले मन्त्रीविहीन अवस्थामा छन् । यी बाहेक काँग्रेसले गृहमन्त्रालयमा पनि दाबी गरेको छ ।

काँग्रेसबाट परराष्ट्रमन्त्रीमा डा. शेखर कोइराला र डा. आरजु राणा देउवाको चर्चा चलेको जानकारहरुले बताएका छन् । दाहाल नेतृत्वको सरकारमा काँग्रेसबाट कस्ले नेतृत्व गर्ने भन्नेमा हानथाप शुरु भएको छ ।

पुराना प्रयोग भै सकेका नेताहरुलाई भन्दा नयाँ अनुहारलाई मापदण्ड बनाएर सरकारमा पठाउनुपर्ने चर्चा चलेको छ । महिलाबाट सीता गुरुङ र पुरुषबाट प्रदीप पौडेल, धनराज गुरुङ मन्त्री बन्ने प्रवल संभावना रहेको बताइन्छ ।

यसैगरी शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अवस्थामा मन्त्री बन्नबाट नैतिक रुपमा रोकिने संभावना भएकी डा. आरजु राणा देउवा पनि अहिलेको मन्त्रिमण्डमा पर्ने संभावना रहेको भनी काँग्रेसवृत्तमा चर्चा चलेको छ । गृहमन्त्रालय पाए उपसभापति पूर्णबहादुर खड्का र अर्थमा गगनकुमार थापाको चर्चा चलेको छ । यद्यपि उनीहरुले मन्त्री नबन्ने बताएका छन् ।

प्रधानमन्त्रीको चाहना अर्थमा गगन
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘ग्रीन सिग्नल’ दिएमा प्रधानमन्त्री पुष्पकमल दाहालको चाहनामा आगामी अर्थमन्त्री काँग्रेस महामन्त्री गगनकुमार थापा हुने भएका छन् ।

कार्यक्षमताका हिसाबले काँग्रेसमा अर्थसम्बन्धी जानकारहरु भन्दा थापा अब्बल मानिन्छन् । थापाले स्वास्थ्यमन्त्री हुँदा सुधारका कामहरु थालनी गरेका थिए ।

संसदीय दलको चुनावमा पराजित भएपछि थापाले मन्त्री नबने बताए पनि प्रधानमन्त्री दाहालको रुचि अर्थमन्त्रीमा थापाप्रति रहेको समाचार श्रोतले बताएको छ ।

आफ्नै पार्टीका नेता जनार्दन शर्मालाई अर्थमन्त्री बनाएपछि ध्वस्त बनेको अर्थतन्त्र फेरी माओवादीको भागमा राख्ने पक्षमा प्रधानमन्त्री छैनन् ।

पूर्वअर्थमन्त्री शर्माले भन्सार विभाग र आन्तरिक राजश्व विभागको महानिर्देशक बनाएर पठाएका चक्रबहादुर बुढा र दीर्घराज मैनालीले पनि राजश्व संकलन गर्न चाहेर पनि व्यापारीहरुले नटेरेको चर्चा चलेको छ ।

अहिले अर्थतन्त्र निकै कमजोर (टिठ लाग्दो) अवस्थामा छ । काँग्रेसमा अनुहार हेरेर कु रा बुझ्न सक्ने खुबी भएका नेता थापाले अर्थमन्त्रालय सम्हाले रक्तसञ्चार हुने जानकारहरुले बताएका छन् ।

उद्योगी र व्यापारीको चाहना पनि थापाप्रति नै रहेकाले सभापति देउवालेअर्थमन्त्रालयमा नाइ भन्ने अवस्था देखिँदैन ।

आर्थिक वर्ष २०८०÷०८१ को बजेट बनाउन लागि पर्ने बेलामा अर्थमन्त्रालय नेतृत्वविहीन बन्न पुगेको छ ।

यता, भन्सारमा सेटिङ गरेर खान पल्केकाहरुलाई राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटाले ज्वरो निकालेका छन् । नयाँ विमर्शका साथमा ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।