राष्ट्रपतिमा एमाले ढोक्सो थाप्दै : प्रदेशमा पनि अन्यौल, कांग्रेस मख्ख

फाल्गुण २३ मंगलबार |
यहि फागुन २५ गते हुने भनिएको राष्ट्रपतिको निर्वाचनको कारण मुलुकको राजनीतिक यात्रा बदलिन पुगेको छ । गत पुस १० गते पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनका लागि बनेको सात दलीय गठबन्धन दुई महिनामै भत्किन पुगेको छ ।नेकपा (एमाले) को बलमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपतिको निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्ममा अर्को समीकरण निर्माण गरिदिएका छन् ।

राजनीतिको चतूर खेलाडी ठान्ने एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई समेत चक्मा दिएर दाहालले नयाँ समीकरण बनाइदिएका छन् ।दाहालको पछिल्लो कर्मलाई कतिपयले अस्थीर भनी आलोचना गरे पनि उनले एमालेका अध्यक्ष ओलीको पेलानलाई झेल्न नसकेको बताइन्छ ।

दाहालले पछिल्लो निर्णय लिनुमा ओलीको शैली नै कारक रहेको भनी चर्चा चल्न थालेको छ । गत पुस १० गते तात्कालीन सत्ता गठबन्धन त्यागी दाहाल ओलीसँग पुगी नयाँ गठबन्धन गरी प्रधानमन्त्री बनेका थिए ।

दाहालले गठबन्धनलाई धोका दिएको भन्ने गरिएको थियो । ओलीको नेतृत्वमा बनेको नयाँ गठबन्धनकै आधारमा दाहाल प्रधानमन्त्री बन्नासाथ ओलीले पुरानो रिसइवी साँध्दै दाहाललाई पेल्न थालेका थिए ।

प्रधानमन्त्री बनाउन आफू र आफ्नो दलले महत्वपूर्ण योगदान दिएको ठानी ओलीले दाहाललाई देखावटी प्रधानमन्त्रीको रुपमा मात्र राख्न चाहेका थिए । उच्च स्तरिय संयन्त्र बनाएर ओलीले दाहालमाथि निर्देशन दिन थालेपछि दाहालले आफ्नो हैसियत बुझ्न थालेका थिए ।

त्यसमाथि रवि लामिछानेको नागरिकता प्रकरण तथा गृह मन्त्रालयको विषयमा समेत ओलीले दाहाललाई अनावश्यक दबाब दिन थालेपछि दाहालले समेत ओलीको विकल्प खोज्न थालेका थिए ।

प्रधानमन्त्री बनी विश्वासको मत माग्दा आफ्नो गठबन्धन तोडी हिंडेका दाहाललाई विश्वासको मत कांग्रेसले नदिने आम बुझाइ विपरित कांग्रेसले विश्वासको मत दिएको थियो ।

कांग्रेस भित्र विश्वासको मत दिनु नहुने भन्ने कुराले जरो गाडेको अवस्थामा समेत देउवाले एकदमै सुझबुझपूर्ण तरिकाले उक्त निर्णय गराई कांग्रेसको विश्वासको मत दाहालको सरकारलाई दिएका थिए ।

अनपेक्षित रुपमा कांग्रेसले मत दिएपछि दाहाल दंग परे भने ओली चाहीँ झस्किन पुगे । ओलीले संसद्मा बोल्दै कांग्रेसले दिएको विश्वासको मतलाई आशंका गर्दै ‘कांग्रेसले माछा पार्न भनी ढोक्सो थापेको होला, तर यो ढोक्सोमा केही पर्नेवाला छैन ।’ भनेका थिए ।

ओलीको बुझाइमा त्यो समयमा कांग्रेसले विश्वासको मत नदिनुपर्ने थियो । विश्वासको मत दिएपछि माओवादीलाई पगाल्न सकिएला, कुनै न कुनै पद पाउन सकिएला, उस्तै परे नयाँ समीकरण बनाउन सकिएला जस्ता कुरा कांग्रेसले चाहेर विश्वासको मत दिएको ओलीको बुझाइ थियो ।

त्यसो त दाहाल भड्किएर हिंडेको बेला कांग्रेसजनले दाहालमाथि खनिने अभिव्यक्ति दिने ठानेर कांग्रेस सभापति शेरबहादुर देउवाले ‘त्यस्तो अभिव्यक्ति नदिन’ सुझाएका कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा बताउँछन् ।

खतिवडा भन्छन्, ‘सभापति देउवाले हाम्रै कमी कमजोरीले गठबन्धन विग्रियो, त्यसैले त्यसलाई सच्याउन समय लाग्छ, अहिले कसैले कसैलाई गाली गलौज नगर्नू भनी निर्देशन दिएकाले हामी संयमित रह्यौं त्यसैको फलस्वरुप आज पहिलेकै गठबन्धन पुनर्गठित भएको छ ।’

पछिल्लो घटनाक्रमले नेपाली कांग्रेस मख्ख देखिएको छ । दाहाललाई पहिलो चरणको प्रधानमन्त्री छोड्न नमान्दा पहिलेको गठबन्धन भत्किएको भन्दै कांग्रेसले आफ्नो कमजोरीलाई सच्याउने कार्य गरेको हो ।

कांग्रेसले एमालेका अध्यक्ष ओली जस्ता चतूर खेलाडीलाई माथ गर्दै फेरि पनि आफ्नै नेतृत्वमा नयाँ गठबन्धन बनाउन सफल भएको छ । सबैभन्दा ठूलो दल रहेर पनि सत्ताबाट बाहिर रहन पुगेको कांग्रेसका सभापति देउवाको चतु¥याइँले काम गरी कांग्रेस फेरि पनि सत्तारुढ हुने वातावरण बन्न पुगेको छ ।

एमालेको नेतृत्वमा गठित गठबन्धनका कारण ओली निक्कै नै खुशी देखिएका थिए । उनले तात्कालिन सत्तारुढ गठबन्धनलाई भत्काउन सफल भएको मात्र नभई दाहालसँग आलोपालो प्रधानमन्त्रीको समेत चाँजो मिलाएका थिए ।

आफ्नो दल सबैभन्दा ठूलो दलको अवस्थामा सो गठबन्धनमा रहेका कारण ओलीले उच्च स्तरिय संयन्त्र बनाएर त्यसको नेतृत्व आफूले गरेका थिए ।

सोही संयन्त्रमार्फत दाहाललाई देखावटी प्रधानमन्त्री बनाई आफू भने भित्री प्रधानमन्त्री जस्तै गरी हैकमवाद चलाउन थालेपछि दाहाल झस्किन पुगेका थिए ।

ओलीको अहम्ले दाहाललाई उकुसमुकुस बनाइरहेको अवस्थामा कांग्रेसले दिएको विश्वासको मतलाई आधार बनाउँदै दाहालले नयाँ समीकरण बनाउने योजना बनाएका थिए ।

सोही योजना मुताबिक दाहाल र देउवाबीचको भेटघाट तथा सम्बन्ध बाक्लिएको थियो । नयाँ समीकरण बनाउन दाहाल सहमत भएपछि ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति’ को नारा लगाउँदै दाहालले कांग्रेसको उम्मेदवारलाई साथ दिने संकेत मात्र गराएनन् आफ्नो दलबाट निर्णय नै गराए ।

त्यस्तो अवस्थालाई एमालेका ओलीले आफूमाथिको धोकाको रुपमा बुझे पनि त्यसको प्रतिकार गर्न भने सकिरहेका थिएनन् ।

आफ्नो दलको तर्पmबाट राष्ट्रपतिका लागि सुभाषचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेका ओलीको पक्षमा एमालेका मात्र सांसदहरुले हस्ताक्षर गर्न पुगे ।

कांग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा दाहालको सक्रियतामा आठ दलका सांसदहरुले प्रस्तावक र समर्थकमा बसी राष्ट्रपति बन्ने वातावरण बनाइदिएका छन् ।

राष्ट्रपतिमा आठ दलीय समर्थन देखिएपछि सरकारमा रहिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत सरकारमा बसिरहन उचित देखेन ।

राप्रपाले आफ्नो दल सरकारबाट हट्ने निर्णयमात्र गरेन कि सरकारलाई दिएको विश्वास समेत फिर्ता लिने निर्णय ग¥यो । त्यसपछि पनि एमाले भने सरकारमै टाँसिइरहने निर्णयमा पुगेको थियो ।

एमाले हत्तपत्त सरकारबाट हट्ने संकेत नपाएका दाहालका लागि परराष्ट्रमन्त्री विमला राई पौडेलको स्वीट्जरल्याण्ड भ्रमण एउटा हतियार बन्न पुग्यो ।

भ्रमणमा जाने तयारीमा रहेकी पौडेललाई नजान भनी प्रधानमन्त्री दाहालले निर्देशन दिएपछि एमालेमा पनि एकाएक माहोल परिवर्तन हुन पुग्यो ।

त्यसको भोलिपल्टै एमालेले निर्णय गर्दै सरकारबाट बाहिरिने तथा दिएको समर्थन पनि फिर्ता लिने निर्णय गर्न पुग्यो । एमालेको यो निर्णयले प्रधानमन्त्री दाहाललाई हाइसन्चो मात्र भएन कि कांग्रेस लगायतका दललाई सरकारमा जानका लागि ढोका खोलिदियो ।

सरकारलाई दिएका केही दलहरुले समर्थन फिर्ता लिएको अवस्थामा दाहालले विश्वासको मत लिनुपर्ने भनी संवैधानिक रुपमा चर्चा चलिरहेका बेला दाहालले भने अन्य दललाई समेत सरकारमा सामेल गरी नयाँ मन्त्रिमण्डलको तयारी थालेका छन् ।

एमाले नेतृत्वको गठबन्धन भत्किन पुगेपछि त्यसले केन्द्रको सरकारमा मात्र होइन कि प्रदेशका सरकारहरुमा समेत असर गर्ने अवस्था आएको छ । एमालेले नेतृत्व गरेका प्रदेशका सबै सरकारहरु ढल्ने अवस्थामा पुगेका छन् ।

माओवादी केन्द्रको समर्थन विना एमालेको नेतृत्वमा बनेको कुनै पनि प्रदेशका सरकार टिक्न सक्ने अवस्थामा छैनन् । प्रदेश नं.१ मा एमालेको नेतृत्वमा सरकार बनेको तथा त्यहाँ राप्रपाले सरकारबाट बाहिरिने निर्णय नगरेको अवस्थामा त्यहाँको सरकारको आयूको विषयलाई लिएर पनि बहस चल्न थालेको छ ।

त्यहाँ एमाले र राप्रपाको संख्या ४६ मात्र पुग्ने तथा बहुमतको लागि कम्तीमा पनि ४७ सांसद चाहिने स्थिति छ । हाल सरकारमा रहेको जसपाको एकजना सांसदले समेत नयाँ समीकरणलाई साथ दिने अवस्थामा एमालेको सरकार स्वतः अल्पमतमा पर्ने देखिन्छ ।

यस्तो अवस्थामा जसपा सहितको समर्थनमा अर्को सरकार प्रदेश नं.१ मा समेत बन्ने स्थिति बनेको छ । उता, अन्य प्रदेशहरुमा समेत एमालेको नेतृत्वमा बनेका सरकारहरु ढल्ने स्थितिमा पुगेका छन् ।

माओवादीले साथ छोड्नासाथ एमालेको नेतृत्वमा बनेका सबै प्रदेश सरकारहरु ढल्ने स्थिति अंकगणितले देखाउँछ । यस्तो स्थितिमा नयाँ समीकरण अनुसारको नयाँ सरकार प्रदेशहरुमा पनि देखिन्छ ।

यसरी नयाँ सरकार प्रदेशहरुमा बन्ने स्थितिमा एमालेले गुमाउने सबै प्रदेशमा कांग्रेसले स्थान पाउने परिस्थिति देखिएको छ । सात प्रदेशमध्ये दुइटामा माओवादी केन्द्रले नेतृत्व गरेको छ भने एउटामा जसपाको नेतृत्वमा सरकार बनेको अवस्था छ ।

ती सरकारहरु टिक्ने देखिएको छ भने एमालेको नेतृत्वबाट सुदूर पश्चिममा कांग्रेसले हात पारेको सरकारसहित केही प्रदेशमा कांग्रेसले नेतृत्व गर्न पाउने अवस्था आएको बताइन्छ ।

उता, हालको नयाँ समीकरण बनेको स्थितिमा एमालेका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार बनेका नेम्वाङ अंक गणितीय हिसाबमा हारको नजिक देखिएको छ ।

यस्तो स्थितिमा पनि एमालेले उम्मेदवारी दिएर हालको नयाँ गठबन्धनमा ‘फुटाउ’ को राजनीति गर्न सकिन्छ कि भनी ‘ढोक्सो’ थापे पनि त्यो ढोक्सो रित्तै हुने भनी राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ । नयाँँ विमर्शका साथमा ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।