नेपालले ओलम्पिक छनोट आयोजना गर्ने

फाल्गुण १४ आइतबार |
नेपालले सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू आयोजना गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मूह ‘सी’ का खेलहरू नेपालमा आयोजना हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्यालेस्टाइनले ओलम्पिक छनोट नै नखेल्ने भएपछि नेपालले छनोटको आयोजना गर्ने अधिकार पाएको हो । अब नेपाल रहेको समूह ‘सी’ मा भियतनाम, र अफगानिस्तान रहेको रहेको छ ।

ओलम्पिक छनोट अन्तरगतको पहिलो राउन्डको खेलहरु अप्रिल ३ देखि ११ सम्म हुँदैछ । नेपालमा हुने खेलहरु दशरथ रंगशालामा हुनेछ ।

नेपालले पहिलोपल्ट महिला फुटबलको ओलम्पिक छनोट आयोजना गर्ने अवसर पाएको हो । यसअघि नेपालले दुई पटक दक्षिण एसियाली स्तरको साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ ।

सात समूहका शीर्ष टिमहरु दोस्रो चरणमा पुग्नेछन् । उनीहरुले दोस्रो चरणमा उत्तर कोरिया, जापान, अस्ट्रेलिया, चीन र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछन्

समूह विजेता तीन टिमसँगै उपविजेतामध्येका उत्कृष्ट एक गरी चार टोली तेस्रो चरणमा पुग्नेछ । तेस्रो चरणका उत्कृष्ट दुई टोली पेरिस ओलम्पिकमा छनोट हुनेछन् ।

ओलम्पिक छनोटकै तयारीमा नेपालले गत साता भारतको चेन्नईमा घरेलु टोलीविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।

पहिलो मैत्रीपूर्णमा २–० ले पछि रहेको अवस्थामा खेलको अन्त्यतिर सावित्रा भण्डारीले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपालको हार टरेको थियो । दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।