राष्ट्रपति जो भए पनि एमालेसँगको गठबन्धन कायम हुन्छ यथावत् नै रहन्छ : नेता शर्मा

फाल्गुण ७ आइतबार |
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री दिननाथ शर्माले नेकपा एमालेलाई राष्ट्रपति दिने सहमति आफ्नो पार्टीलाई थाहा नभएको बताउनुभएको छ ।नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै नेता शर्माले एमाले र माओवादीबीच कुनै सहमति नभएको दाबी गर्नुभयो ।उहाँले भन्नुभयो, ‘त्यस्तो सहमति गरेको भए पार्टीलाई थाहा हुनु पर्दैन ? म पार्टीको सचिव हुँ, सचिवालयलाई नै थाहा छैन ।उहाँहरू दुई जना (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) ले के गर्नुभयो ? पार्टीले कुनै निर्णय गरेको छैन ।

मलाई लाग्छ, त्यस्तो कुनै सहमति भएको छैन । ओलीजीले पहिलेका लिखित सहमति त तोड्नुभयो ।उपसभामुख माओवादीलाई दिने भन्ने थियो, अन्टसन्ट गरेर तोड्नुभयो ओलीजीले,।’उहाँले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी नेपाली कांग्रेस वा नेकपा एमालेभन्दा पनि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउनुभयो ।

अब कांग्रेससहितको सहमतिमा राष्ट्रपति बनाउनु पर्ने उहाँको भनाई छ । शर्माले भन्नुभयो, ‘सक्षम पात्र एमालेले दिए पनि हुन्छ, कांग्रेसले पनि दिए हुन्छ ।कांग्रेस हुँदैन भने रोहित, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, महन्थ ठाकुर जसलाई बनाए पनि हुन्छ । सहमति गरौं न सबै मिलेर ।

मेरोबाहेक अरू हुँदै हुँदैन भन्ने कुरा आउँदैन । अब निषेधको राजनीति गर्नुहुँदैन ।’राष्ट्रपति कांग्रेस वा मधेसवादी दललाई दिए पनि एमालेसँगको गठबन्धन कायमै रहनुपर्ने शर्माले औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमाले हाम्रो मित्र शक्ति हो । वामपन्थी शक्ति हो । पहिले पार्टी एकता गरेको पनि हो । तर एकता जोगाउन सकिएन ।अहिले पनि म एकताकै पक्षधर हुँ । राष्ट्रपति जो भए पनि एमालेसँगको गठबन्धन कायम हुन्छ । यथावत् नै रहन्छ ।’

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।