महाशिवरात्री तथा सेना दिवस भब्य रुपमा सम्पन्न

फाल्गुण ६ शनिबार |
महाशिवरात्री तथा नेपाली सेनाको २६० औं वार्षिकोत्सबको अवसरमा आयोजित सेना दिवस २०७९ को उपलक्ष्यमा एक कार्यक्रम ऐतिहासिक,भब्य तथा सब्य समारोहका बिच सम्पन्न भएको छ ।उक्त भब्य समारोहमा राष्ट्रपति एबं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीसहित उच्चपदस्थ पदाधिकारीद्वारा सेनाको हर्ष बढाइँ अवलोकन गर्नुभएको थियो । राष्ट्रपति भण्डारी महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीबाट सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।

समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०७९ वार्षिक पत्रिका र ९विसं १८७२–२००७० नेपाली सेनाको इतिहास’को विमोचन गरिएको थियो ।

उक्त सेना दिवसमा ‘फ्री फल जम्प’मा प्रथम र दोस्रो सेनानी टेकबहादुर कार्कीलाई पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रपति भण्डारीले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय र बेलायती सेनामा कार्यरत गोर्खा ब्याण्ड समूहका प्रमुखलाई उपहार प्रदान कार्यक्रम रहेको थियो ।

यसअघि सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो ।

समारोहमा सेनाले विभिन्न रणकौशल तथा परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरियो । कार्यक्रममा मार्चपास, पिटी र तेक्वान्दो प्रस्तुत गरियो । सो अवसरमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र सभामुख देवराज घिमिरे समारोहमा उपस्थित भएका थिए । समारोहमा मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुग्नुभएको थियो । समारोहमा भारतीय सेनाका पाँच पूवप्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

समारोहपछि प्रधानसेनापति प्रभुराम शर्माले समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्नुभएको थियो भने महाशिवरात्री तथा नेपाली सेनाको २६० औं वार्षिकोत्सबको अवसरमा उपस्थिती भएर कार्यक्रम ऐतिहासिक बनाइदिएको भन्दै बिशेष राष्ट्रपति भण्डारी,प्रधानमन्त्री दाहाल,कामु प्रधानन्यायाधीश कार्की ,सभामुख घिमिरे लगायत सम्पुर्ण उपस्थित महानुभाव दाजुभाई तथा दिदीबहिनीहरुमा धन्यवाद प्रकट गर्नुभएको थियो ।

आयोजना गरिएको बढाइँ तथा सैनिक कला प्रदर्शनी समारोह कार्यक्रमका झलकहरु समेत प्रस्तुत गरिएको छ । शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो ।

मादलमा सेनाको विश्व रेकर्ड
नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वल्र्डका नेपाल प्रतिनिधि हस्तान्तरण गर्नुभयो ।नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ । नेपालीहरुको मौलिक चाड दशैँ, तिहार होस या तिज सक्रान्ति, देउसी, भैलो, जात्रालगायतका पर्वमा मादलनै अघि सारिन्छ । सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते उक्त सङ्ख्यामा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले आज हस्तान्तरण गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “नेपालको मौलिक बाजा मादललाई प्रवद्र्धन गर्ने हिसाबले भएको नौलो र पहिलो प्रयास थियो, सेनाले यसलाई सम्पन्न ग¥यो । ठूलो सङ्ख्याले एकै पटक विभिन्न तालमा बजाएर कायम गरेको रेकर्ड वल्र्ड रेकर्डमा सङ्ग्रहित गरेका छौँ ।”

पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’
नेपाली सेनाले राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ सम्पादक विष्णुप्रसाद नेपालसहित तीन जना पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ ।

सेनाको दुई सय ६०औँ स्थापना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उहाँहरूलाई उक्त पदक प्रदान गर्नुभएको हो ।

पछिल्ला वर्ष सेनाले समाजको विभिन्न विधामा विशिष्ठ योगदान पु¥याउने महानुभावलाई सेना दिवसका अवसरमा प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्दै आएको छ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।