आज सेना दिवसः विपदमा ‘सारथी’ बन्दै सेना

फाल्गुण ६ शनिबार | पत्रपत्रिका
नेपाली सेना देशको सुरक्षा संयन्त्रको एउटा मुख्य अंग हो । सेना युद्धका लागि मात्रै होइन पछिल्ला समय देशमा आइपर्ने जस्तासुकै विपद्का घटनामा पनि जनताको मुख्य सारथी बन्दै आइरहेको छ ।नेपाली सेनाले भूकम्प तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद्, आगलागी, विमान दुर्घटना तथा हवाई उद्धारजस्ता घटनामा पनि आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आएको छ ।

नेपालको संविधानको भाग २८ को धारा २६७ को उपधारा (४) ले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि संविधानप्रति प्रतिबद्ध संगठन मानेको छ । त्यस्तै, संविधानले नै सेनालाई सरकारले संघीय कानुनबमोजिम विकास निर्माण र विपद् व्यवस्थापनलगायतका अन्य कार्यमा समेत परिचालन गर्न सक्ने अधिकार दिएको छ । संविधानले नै दिएको अधिकारलाई सदुपयोग गर्दै सेनाले विकास निर्माण र विपद्मा आफूलाई देश र जनताप्रति जिम्मेवार देखाउँदै आइरहेको छ ।

सेनासँग हाल १३ हजार ८ सय २० जना विपद्मा परिचालन गर्न सकिने तालिमप्राप्त विशेष दक्ष जनशक्ति छन् । त्यसबाहेक सेनाको सिंगो संरचना नै भइपरी आउने जुनसुकै अवस्थाका लागि तयार रहँदै आइरहेको छ । २०७२ सालको महाभूकम्पबाट हजारौं नेपाली नागरिक घरबारविहीन हुँदा होस् या कोरोना महामारीका समयमा हजारौंले ज्यान गुमाउँदा सेनाले सिंगो संगठनलाई नै दाउमा राखेर जनताप्रति समर्पित गराइदिएको छ ।

यस्तै, कोरोना महामारीका समयमा विदेशबाट आएका नेपाली नागरिकलाई उचित व्यवस्थापन गर्ने (होल्डिङ सेन्टर बनाउने र राख्ने) काममा पनि सेनाको भूमिका देखिएको थियो । कोरोना कालमा सेनाले देश र जनताप्रति देखाएको जिम्मेवारीलाई देशले नै सराहना गर्ने गरेको छ । कोरोना महामारीबाट निधन भएका व्यक्तिको शव आफ्ना आफन्तले समेत छुन नपाउने विकराल अवस्थामा सेनाले देखाएको तत्परता ‘स्यालुट’योग्य छ ।

नेपाल प्राकृतिक तथा मानव सिर्जित विपद्को उच्च जोखिममा समेत छ । नेपालमा बर्सेनि सयौं सर्वसाधारणले विपद्का कारण अकालमा ज्यान गुमाउने गरेका छन् भने भौतिक संरचनामा पनि करोडौं मूल्यबराबरका राज्यको सम्पत्ति नोक्सान हुने गरेको छ ।

सेना सधैं देश र जनताप्रति जिम्मेवार छ, नेपाली सेनासँग हाल विपद्मा परिचालन गर्न सकिने विशेष तालिमप्राप्त दक्ष जनशक्ति १३ हजार ८ सय २० छ, त्यसबाहेक पनि सेनाको सिंगो संरचना नै भइपरी आउने जुनसुकै अवस्थाका लागि तयार रहन्छ ।
– कृष्णप्रसाद भण्डारी, सैनिक प्रवक्ता

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी सेनाले सधैं आफूलाई देश र जनताप्रति समर्पित गर्दै अघि बढेको बताउँछन् ।

‘सेना सधैं देश र जनताप्रति जिम्मेवार छ,’ सैनिक प्रवक्ता भण्डारीले राजधानीसँग भने, ‘नेपाली सेनासँग हाल विपद्मा परिचालन गर्न सकिने विशेष तालिमप्राप्त दक्ष जनशक्ति १३ हजार ८ सय २० छ, त्यसबाहेक पनि सेनाको सिंगो संरचना नै भइपरी आउने जुनसुकै अवस्थाका लागि तयार रहन्छ ।’

नेपाली सेनासँग विद्यमान प्राविधिक तथा व्यवस्थापन क्षमता, प्रतिकूल वातावरणमा काम गर्न सक्ने एवं छिटो प्रतिक्रिया गर्न सक्ने क्षमता छ । सोही कारण प्राकृतिक तथा गैरप्राकृतिक एवं प्रविधिजन्य विपद्को दौरानमा उद्धार कार्य गर्ने जिम्मेवारी सरकारले सेनालाई सुम्पिएको छ ।

राष्ट्रिय विपद् प्रतिकार्य कार्यढाँचा, २०७० (प्रथम संशोधन, २०७५) अनुसार विपद्का समयमा सेनाले गृह मन्त्रालयको नेतृत्वमा सेनालाई खोज तथा उद्धार, राहत कार्य सञ्चालन, हवाई उद्धार, पुनर्निर्माणलगायतमा कार्य गर्दै आइरहेको छ ।

सेनाले नेपालमा विशेषतः मनसुनजन्य प्रकोपहरूबाट बढी जनधनको क्षति हुने विगतका अनुभवबाट पाठ सिक्दै हरेक वर्ष मनसुनपूर्व नै पूर्वतयारीसमेत गर्ने गरेको छ ।

त्यसक्रममा सेनाले फौजको तैनाथी, बर्खायाममा हुने विपद्का घटनाबाट प्रभावितको खोज, उद्धार तथा सहयोग कार्यका लागि हरेक जिल्लामा तैनाथ गण र अनाश्रित फौज विपद् उद्धार सामग्रीसहित तयारी अवस्थामा राख्दै आएको छ ।

सेनाले सुनसरी, रौतहट, बारा, काठमाडौं, कास्की र सुर्खेतमा विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गतको फौज तथा सुनसरी, काठमाडौं, कास्की र सुर्खेतमा विशेष फौज बाहिनी अड्डाअन्तर्गतको फौज विपद् व्यवस्थापनका सामग्रीसहित तैनाथ गर्ने गरेको जनाएको छ ।

यसैगरी, विपद्का समयमा देशको सबै क्षेत्रमा खोज तथा उद्धार गर्न सक्नेगरी सुनसरी, काठमाडौं र सुर्खेतमा सेनाले हेलिकोप्टरलाई तयारी अवस्थामा राख्दै आइरहेको छ ।

सेनाले २०७९ माघ मसान्तसम्म १३ हजार ८ सय २० जनालाई विपद् व्यवस्थापनसम्बन्धी तालिम दिएर विपद्का समयमा जनताको सेवामा समर्पित गर्नेगरी दक्ष जनशक्ति तयार गरिसकेको छ ।

सेनाले नेपाललाई विपद्बाट उत्थानशील समाजका रूपमा स्थापित गर्ने सरकारको दीर्घकालीन सोचलाई साथ दिन स्थानीयस्तरमा सामुदायिक विपद् प्रतिकार्य तालिमसमेत सञ्चालन गर्दै आइरहेको छ । सो तालिम २०७६ साउनदेखि सुरु भएकामा हालसम्म २३ हजार ५ सय ९५ जना स्थानीय बासिन्दालाई सहभागी गराइएको सेनाले जनाएको छ ।

सेनाले विपद् प्रतिकार्यमा अन्य सुरक्षा संयन्त्र र सरकारी निकायसँग पनि सहकार्य गर्ने गरेको छ । त्यसका लागि एकीकृत अभ्यासहरू पनि हुँदै आइरहेका छन् ।

सेनाले विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन आन्तरिक तालिमबाहेक स्वदेशी तथा विदेशी सम्बद्ध निकायसँग संयुक्त रूपमा तालिम तथा अभ्यासहरू गर्ने गरेको छ । राजधानीबाट ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।