हेटौँडा सिमेन्टको उत्पादन बन्द

२ फाल्गुण,काठमाण्डौ | (रासस)
बागमती, २ फागुन । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ ।उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ ।
उद्योगका नायव महाप्रबन्धक नवीन कर्णले सिमेन्ट उत्पादनका लागि आवश्यक कोइलाको व्यवस्थापनमा लागेको र एक हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने दाबी गर्नुभयो ।कोइला भारत, इन्डोनेसिया र भुटान तथा पाकिस्तानबाट आयात हुनेछ ।

लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको उद्योग अहिले फेरि बन्द भएको हो । दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको भए पनि पुरानो मेसिनरी समस्या र जनशक्ति अभावमा सो अनुसार उद्योगबाट सिमेन्ट उत्पादन हुन सकेको छैन ।उद्योग विगत चार वर्षदेखि घाटामा छ । उद्योग विसं २०३३ मा एशियाली विकास बैंकको सहयोगमा स्थापना भएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।