रविको नागरिकतामा पुरानै नम्बर

१६ माघ,काठमाण्डौ | पत्रपत्रिका
सर्वोच्च अदालतको गत शुक्रबारको आदेशपछि नागरिकताविहीन बनेका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अमेरिकी नागरिकता त्याग गरेको ‘निस्सा’ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरेपछि उनले पुनः नागरिकता प्राप्त गरेका हुन् ।सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले लिएको नागरिकता अवैध ठहर गरेपछि उनी नागरिकताविहीन भएका थिए । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगी कानुनी प्रक्रिया पु¥याएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

लामिछानेका सचिवालय प्रमुखसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले सर्वोच्चको आदेशपछि आवश्यक प्रक्रिया पु¥याएर लामिछानेले पुनः नागरिकता प्राप्त गरेको र नागरिकताको प्रमाणपत्रमा २०५० सालमा उल्लेख पुरानै नम्बर कायम भएको जानकारी दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेस गरेपछि नागरिकता प्रदान गरिएको जानकारी दिए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुनबमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो । सर्वोच्चको सो आदेशपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका थिए ।

लामिछानेविरुद्ध अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पुरानै नागरिकताअनुसार कामकारबाही गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । राजधनीबाट

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।