१ माघ,काठमाण्डौ ।
सरकारले पोखरामा आज विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण
पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहनुभएको सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।
आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा हुनुहुन्छ । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ ।
आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रतिवेदन प्राप्त भएलगत्तै सरकारले सुझाव कार्यान्वयनको व्यवस्था मिलाउने प्रवक्ता पौडेलले बताउनुभयो । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।
विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन
सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे÷नगरेको अनुगमन गर्न नागरिक उड्डयन प्राधिरकणलाई निर्देशन दिएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।
“आन्तरिक उडानमा रहेका विमानको प्राविधिक पक्षको परीक्षण अनिवार्य गर्ने व्यवस्थाले हवाई दुर्घटना कम गर्न सघाउ पुग्ने हाम्रो अपेक्षा छ”, बैठकका निर्णयबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “बैठकले घटना प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।”
बैठकले दुर्घटनामा परी निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । बैठकले माघ २ गते सोमबार दुर्घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ ।
घटनाबारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्य सरोकारवालाका लागि सम्पर्क र विश्वसनीय सूचनाको प्रबन्ध गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
सरकारले पार्थिव शरीर बुझ्न र आ-आफ्नो स्थानमा लैजान चाहनेका लागि सहजीकरण गर्न आवश्यक प्रबन्ध मिलाउने निर्णयसमेत गरेको छ । घटनापछि त्यसबारेमा जानकारी लिने र तत्काल उद्धारका लागि आवश्यक निर्देशन दिइएको उहाँले बताउनुभयो । “राज्यका सबै निकायलाई परिचालन गर्नेमा प्रधानमन्त्री लाग्नुभएको छ”, उहाँले भन्नुभयो, “राज्यका सम्बद्ध निकाय त्यसैअनुसार परिचालित छन् ।”
आज बिहान करिब ११ बजे नेपालको हवाई दुर्घटनाको इतिहासमा अत्यन्त दुःखद घटना भएको उहाँको भनाइ छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका कमल केसीसहित ७२ जना सवार हुनुहुन्थ्यो ।







