२१ मंसिर,काठमाण्डौ ।
काठमाडौंको दरबारमार्गस्थित ‘केल्मी नेपाल’की अपरेशन म्यानेजर २७ वर्षीया पुष्पा न्यौपानेले काठमाडौंमा आत्मदाह गरेकी छिन् । नुवाकोट जिल्ला स्थायी घर भई काठमाडौंको बुद्धनगरमा बस्दै आएकी न्यौपानेले आइतबार साँझ ७ बजेतिर धुम्बाराहीस्थित पिपलबोट नजिकै रहेको सुदन संग्रौलाको घरको अगाडि आत्मदाह गरेकी हुन् ।पुष्पा र सुदनबीच भदौ १८ गते ईन्गेजमेन्ट भएको थियो । सुदनले पुष्पासँग ईन्गेजमेन्ट गरेर शनिबार तोडेका थिए । सुदनले ईन्गेजमेन्ट तोडेको दुई दिनमै पुष्पाले आत्मदाह गरेर ज्यान दिएकी छिन् ।
न्यौपानेले आफैंलाई पेट्रोल खन्याएर आत्मदाह गरेकी छिन् । जल्दै गरेको अवस्थामा फेलापरेकी उनको उपचारका क्रममा मृत्यु भएको हो । घटनास्थलमा जलिसकेको अवस्थामा भेटिएकी न्यौपानेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा सोमबार बिहान साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली बताएका छन् ।
पुष्पाले आफैंमाथि पेट्रोल खन्याएर आगो लागेकी हुन् वा अरु कसैले पेट्रोल छर्किएर आगो लगाएर हत्या गरेको हो प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पुष्पाका आफन्तले सुदनसहित बुबा दिनेश संग्रौला, आमा विन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा प्रहरीमा किटानी जाहेरी दिएका छन् ।प्रहरीले सोमबार चार जनालाई नियन्त्रणमा लिएको प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अंगुरबाबु जिसीले बताएका छन् । काठमाडौं जिल्ला अदालतले बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ ।
सुदन संग्रौलालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सुदन र पुष्पा २०७८ मा नजिकिन थालेका थिए । मायाप्रेम बाक्लो भएपछि उनीहरूका बीच विवाह गर्न ईन्गेजमेन्ट समेत भएको थियो । पछि के कारणले हो दुई दिनमै सुदनले पुष्पासँग ईन्गेजमेन्ट तोड्न पुगेका थिए ।सुदनले चीनबाट बालबालिकाको खेलौना लगायतका सामग्री आयात गरेर बिक्री गर्छन् । त्यसयपछि सुदन, पुष्पाको घरमा आउने जाने गरिरहेका थिए । पुष्पा पनि धुम्बाराहीस्थित सुदनको घरमा गइराख्थिन् ।
ईन्गेजमेन्ट भएको केही समयबाटै उनीहरूबीच खटपट सुरु भएको पाइएको छ । पुष्पा ईगेजमेन्टको तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा राख्न चाहेकी थिइन् । सुदनले भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा राख्न स्वीकृति नदिएको पुष्पाका आफन्तले आरोप लगाएका छन् ।आफ्ना साथीहरूसँग पुष्पाले सुदनको व्यवहार विस्तारै फेरिन थालेको बताउने गरेकी थिइन् । विस्तारै पुष्पाले सुदनमाथि शंका गर्न थालिन् । उनीहरूका बीच मनमुटाव बढ्दै गयो । आउने शनिबार पुष्पाकी दिदीको ईन्गेजमेन्ट हुँदै थियो । पुष्पाले त्यसका लागि ब्लाउज सिलाउन दिएकी थिइन् । त्यही लिन भन्दै उनी आइतबार दिउँसो ३ बजेतिर बुद्धनगरस्थित घरबाट निस्किएकी थिइन् । कपडा लिएर पुष्पा कतिबेला आइन् ? कतिबेला निस्किइन ? परिवारका सदस्यहरूलाई थाहा छैन ।
सोमबार साँझ ७:१५ बजेतिर पुष्पा आगोले जलेर गम्भीर अवस्थामा रहेको जानकारी आएको थियो । प्रहरीका अनुसार पुष्पाले पाँच लिटरको ग्यालिनबाट पेट्रोल खन्याएको देखिएको छ । आधा पेट्रोल भएको ग्यालिन बरामद भएको प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ । पेट्रोल कहाँबाट ल्याइएको थियो ? भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
प्रहरीले घटनास्थल आसपासको क्लोज सर्किट (सीसी) क्यामराका फुटेजहरू संकलन गरिरहेको छ । पुष्पाले आत्मदाह गरिरहेका बेला मधुसहित पुष्पाका प्रेमी सुदन र बुबाआमा पनि घरभित्रै थिए । पछिल्लो समय सुदन चिनिया युवतीसँग सम्बन्धमा रहेको र सोही कारण पुष्पा संगको ईन्गेजमेन्ट तोडिएको खबर सार्बजनिक भएका छन् ।
लकडाउनका बेला समस्यामा पर्दा व्यवसायलाई अघि बढाउन पनि सुदनलाई चिनियाँ युवतीले नै सहयोग गरेको बताईएको छ । चिनियाँ युवतीसँगको सम्बन्ध पुष्पाले थाहा पाएपछि सुदनसँग मनमुटाव हुन थालेको बताइएको छ । पुष्पाले सुदन र चिनियाँ युवतीसँगको तस्वीर भेटाएको पुष्पाका आफन्तले बताउने गरेका छन् ।