५ साउन,काठमाण्डौ ।
पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने आरोप अस्वीकार गर्नुभएको छ । बिहीबार संसदीय छानविन विशेष समितिलाई बयान दिँदै उहाँले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गर्नुभएको हो ।आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि उहाँले गत २२ असारमा अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो । सोही दिन बजेट निर्माण प्रकरणबारे छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।
समितिले उक्त प्रकरणमा मुछिएका भनिएका बिभिन्न व्यक्तिसँग सोधपुछ गर्ने क्रममा बिहीबार शर्मासँग सोधपुछ गरेको हो । बयानका क्रममा शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीबाहेक अन्य असम्बन्धित व्यक्ति कोही संलग्न नभएको दोहोर्याउनुभएको हो । उहाँले स्थापित मूल्य, मान्यता, विधि र पद्धतिका आधारमा बजेट निर्माण गरिएको दाबी गर्नुभएको छ ।