पत्रकार कुटपिट प्रकरण : मुद्दा कमजोर बनाउने चलखेल, विद्युत् प्रमुख सिंह फरार

२ साउन, चितवन ।
पत्रकार महासंघ चितवनसँग आबद्ध भएका संघसंस्थाले पत्रकार कुटपिट प्रकरणमा मुद्दा कमजोर बनाउने काम भएको बताए । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंह हालसम्म पनि पक्राउ नपर्दा मुद्दा कमजोर बनाउने काम भएको पत्रकारसम्बद्ध संघसंस्थाले जनाएको छ ।नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र मिडिया नेपाल चितवन शाखाले विज्ञप्ति जारी गर्दै पक्राउ पूर्जी जारी भइसके पनि विद्युतका प्रमुख पक्राउ नपर्दा बढी शंका उब्जाएको र मुद्दा कमजोर पार्ने चलखेल भएको हुनसक्ने अनुमान गरेको छ ।

विज्ञप्तिमा पीडितले कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध नाम नै किटेर जाहेरी दिँदा समेत कार्यालय प्रमुख अझै गिरफ्तार नहुनुले मुद्दालाई प्रभावित पार्ने खेल हुनसक्ने बताइएको छ । विज्ञप्तिमा महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष सुवास पण्डित, नेपाल प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टरका उपाध्यक्ष राजेन्द्र आचार्य, समाजवादी प्रेस संगठनका अध्यक्ष टीकादत्त तिमिल्सिना र मिडिया नेपालकी अध्यक्ष समिक्षा पुरीले हस्ताक्षर गरेका छन् ।

पत्रकार कृष्ण आचार्यमाथि शुक्रबार साँझ विद्युत प्राधिकरण भित्रै कर्मचारीहरुले कुटपिट गरेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।